प्रलोभनमा पारी मिर्गौैला प्रत्यारोपण


पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमा एक युवकलाई झुक्याएर मिर्गौला प्रत्यारोपण गरिएको तथ्य खुलेको छ। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे, नालाका कुमार गिरीको मिर्गौला झुक्याएर निकाली प्रत्यारोपण गरिएको तथ्य खुलेको हो।

गिरी आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको छ। बस्नेतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

गत बिहीबार जिल्ला भक्तपुर दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा प्रल्हाद गिरीले भाइ जिल्ला काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस–९ हाल बनेपा नपा–२ बस्ने वर्ष २९ को कुमार गिरीलाई विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल जिल्ला भक्तपुर भनपा–१ स्थित डेराकोठा गरी बस्ने वर्ष ५१ को थर्क बस्नेतले ललाई फकाई लोभ लालचमा पारी गिरीको बायाँ किड्नी निकाली प्रत्यारोपण गरेको भन्ने जाहेरीले दिएका थिए।

सोही आधारमा प्रतिवादी बस्नेतलाई पक्राउ गरी मानव अंग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो। पीडितका दाइ प्रल्हादका अनुसार गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको खुलेको हो।

पीडित गिरी सुस्त मनस्थितिका व्यक्ति रहेको र उसलाई आर्थिक प्रभावमा पारेर मिर्गौला निकालिएको आफन्तले बताएका छन्। कानुनअनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घरनजिकै लगेर केही दिनअघि छाडिएको थियो। आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो।

बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशिष बस्नेतले मिर्गाैला खोजी गर्ने क्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ। गिरीद्वयले आशिषलाई मानसिक रोगी रहेको र परिवारसँग सधैं नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको आरोप पीडितका बुबा भोलानाथ गिरीले जानकारी दिनुभयो।

आशिषले १० हजार दिइसकेको छु, अंश पनि दिन्छु अप्रेसन गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उहाँको दाबी छ। घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डीएसपी प्रसाईंले बताउनुभयो । गिरोहमा संलग्न रहेको भनिएका आशिष, डल्लुराज र लालचन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

पीडित परिवारले कडा र सूक्ष्म रूपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने एवं पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन्। प्रहरीले बस्नेतलाई मानव अंग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ।
तर अस्पतालले भने यस घटनामा आफ्नो कुनै संलग्नता र दोष नरहेको स्पस्ट पारेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. पुकारन्द्र श्रेष्ठले आफूहरूसँग सबै कागजात रहेको र वकिल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित राखेर, तहगत प्रकृया पूरा गरी प्रत्यारोपण गरिने हुँदा यसमा अस्पतालको कुनै दोष नरहेको बताउनुभयो।

अंग दिने र लिनेबीच भित्री कुनै सहमति भएको भए र सोहीअनुसार कागजात बनाएको भए त्यसमा केन्द्रलाई मुछ्न नमिल्ले उहाँले उल्लेख गर्नुभयो। मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाताप्रमाणितलगायतको कागजपत्र पेस गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेस गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ।