विश्व युद्धको संघारमा विश्वकप


विश्वकप फुटबलको तेस्रो संस्करण फ्रान्समा सन् १९३८ मा भएको थियो। युरोपियन राष्ट्रहरू विश्वयुद्ध निम्त्याइरहेको अवस्थामा जसोतसो प्रतियोगिता सम्पन्न भयो। तर यो प्रतियोगिता विश्वकपको इतिहासमा सबैभन्दा असफलको रूपमा लिएको छ।

स्पेनमा गृहयुद्ध चलिरहेको थियो। यसैले स्पेनले प्रतियोगितामा भाग लिन पाएको थिएन। जर्मनीले अस्ट्रियामाथि हमला गर्दा अस्ट्रियाले पनि भाग लिनबाट वञ्चित भएको थियो। इटालीले हालको इथियोपिया (पहिले एबिसिनिया) माथि हमला गरेको थियो।

त्रासैत्रासमा भएको यो विश्वकपमा १६ टोलीले सहभागिता जनाएका थिए। जसमा १३ टोली युरोपबाट थिए भने तीन राष्ट्र युरोपबाहिरका थिए। ती तीनमध्ये ब्राजिल अलि नाम चलेको राष्ट्र थियो। अर्जेन्टिनाले धाँधली गरेर फ्रान्सलाई आयोजक बनाएको भन्दै यो विश्वकपमा सहभागिता जनाएको थिएन।

फिफाले उरुग्वेलाई पनि भाग लिन आग्रह गरेको थियो। तर उरुग्वेले पनि भाग लिन अस्विकार गरेको थियो। दक्षिण अमेरिकीका ब्राजिलबाहेक सबै राष्ट्रले युरोपलाई लगातार आयोजक बनाएको भन्दै प्रतियोगिता बहिष्कार गरेका थिए। सन् १९३४ मा इटालीमा विश्वकप आयोजना भएको थियो।

युरोपका तानाशाही शासकका रूपमा चित्रित गरिएका एडोल्फ हिटलर र बेनिटो मुसोलीनीको शासनमा भएको विश्वकपका विजेता इटाली भएको थियो। इटालीले फाइनलमा उपाधि दावेदारी हंगेरीलाई ४–२ ले हराएर लगातार विश्वकप उपाधि जित्ने टोली बनेको थियो। दुई वर्ष अघि ओलम्पिकमा पनि फुटबल उपाधि जितेकोले इटाली त्यतिबेला सबैभन्दा उत्कृष्ट टोलीका रूपमा रहेको थियो।