गोरेको बयान फेरि लम्बियो, थप एक पक्राउ


विराटनगर, (नेस)
चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभिय्कु गोरे भनिने चूडामणि उपे्रतीको विराटनगरस्थित मोरङ जिल्ला अदालतमा गरिएको बयान लम्बिएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा गोरेको बुधबारदेखि शुरू बयान आइतबार पनि हुने भएको छ।

आइतबार मध्या≈नसम्म बयान सम्पन्न भए सोही दिन थुनछेक बहस हुन सक्ने मोरङ जिल्ला अदालतका तहसिलदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो।

आईतबारको बयानमा गोरेलाई सुनकान्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ। गोरेले बयानमा औपचारिकभन्दा पनि अनौपचारिक विषयमा बढी केन्द्रित भएकाले बयान लम्बिएको अदालतका कर्मचारीले बताएका छन्।

यसअघि प्रहरी हिरासतमा समेत आफ्नो सुरक्षा नभएको भन्दै मानवअधिकारवादीको निगरानीमा राख्न गोरेले कानुन व्यवसायीमार्फत निवेदन दिएपछि उनलाई कडा सुरक्षाबीच ल्याउने, लैजाने गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालयमार्फत मोरङ उर्लावारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्तसहित ६३ जनाविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, सुन चोरी पैठारी र निकासी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाएको छ।

यसैबीच, सनम हत्या र सुन तस्करी प्रकरणमा उर्लावारीका रेवत आचार्य पक्राउ परेका छन्। मोरङ प्रहरीद्वारा पक्राउ गरिएका उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप गराइएको छ। उर्लावारी–५ घर भएका आचार्यको उर्लावारीमा सुन पसल छ।

आचार्य पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३४ पुगेको छ। सनम शाक्य र सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २८ जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ। २ जना भने तारेखमा छुटेका छन्।