कपिलवस्तु प्रहरीद्वारा ३१ लाखको अबैध सामान भन्सार चलान

0
Shares

सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तु प्रहरीले ३० लाख ८२ हजार ८सय ८० रुपैयाँ बराबरको सामान कृष्णनगर भन्सार चलान गरेको छ ।
भारतबाट नेपाल ल्याउने र नेपालबाट भारततर्फ लैजाने क्रममा विभिन्न मितिमा पक्राउ गरेको अबैध सामान प्रहरीले भन्सार चलान गरेको हो । फलफूल, खाद्य सामग्री, धुमपान, मध्यपान, कस्मेटिक, कपडा, हार्डवेयर सामग्री, औषधि लगायतका सामग्री विशेष चेकजाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक यादवले सबैभन्दा बढी कालो मरिच २३ लाख ४३ हजार रकम बराबरको ४हजार २सय ६० किलो बरामद गरिएको बताउनुभयो । यस्तै चुरोट मात्र ३८ पेटी रु १ लाख ३१ हजार बराबरको नियन्त्रणमा लिएको जनाउनुभयो । यसका साथै स्याउ ६६ हजार ५सय २७ रुपैयाँ बराबरको १२२ कार्टुन, फेयर एण्ड लबली ५६ हजार १६० रुपैयाँको ३ पेटी अबैध रुपमा बरामद भएको प्रहरी उपरीक्षक यादवको भनाई छ ।

जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा कपिलवस्तु प्रहरीले भन्सार छलीका १८ हजार ९सयको ५२ पेटी क्लोज अप, १० हजार २५० रुपैयाँको २०५ किलो चिनी, ४हजार २सय को ८४ पोका बिस्कृट तथा ८हजार ६सय बराबरको ६४ पिस कम्बल, लेडिज सुट सुरुवाल तथा बच्चाका कपडा बरामद गरी भन्सार चलान गरेको हो ।

यसका साथै जिआई पाइप सकेट २८ पिस २हजार ८सय रुपैयाको, कर्नी ६ पिस ६सय रुपैयाँ, सेवई(मिठाई) २८ किलो १४ सय रुपैयाँ, नरिवल र छोहारा १० किलो १हजार रुपैयाँ तथा प्लास्टिक वासर ४८ पिस ९६० रुपैयाँ र २४० रुपैयाँको औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । करीब एक सातामा विभिन्न स्थानबाट बरामद गरिएका सबै सामान एकै साथ कृष्णनगर भन्सार चलान गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा भन्सार छली अबैध ओसारपसार तथा चोरी निकासी बढेको भन्दै चेकजाँचमा कडाई गरिएको हालै कपिलवस्तु आएका प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताउनुभयो ।