सुरक्षित गर्भपतनमा मुलुकको अवस्था: उपकरण युरोप–अमेरिकाको दृष्टिकोण ११औं शताब्दीको

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको १५ वर्ष बितको छ। नेपालमा सुरक्षित गर्भपतन सेवा प्राविधिकरूपमा युरोप, अमेरिकाको जस्तै छ। तर महिलालाई हेर्नेे दृष्टिकोण अहिले पनि ११औं शताब्दीको जस्तै रहेको एक विज्ञले बताएका छन्।

आईपास नेपालका कार्यकारी निर्देशक शिवेशचन्द्र रेग्मीले महिलामाथि हेर्ने दृष्टिकोणमा परिर्वतन नआएसम्म महिलामाथि हुने यस्ता हिंसा कायम रहने बताउनुभयो।

१५ वर्षको अवधिमा विभिन्न संघसंस्थाले गरेको अनुसन्धानमा ५० लाखभन्दा बढी महिलाले अझै पनि असुरक्षित गर्भपतको सहारा लिएको आईपासका कार्यक्रम सल्लाहकार डा. माधवी वज्रचार्यले बताउनुभयो। डा. वज्राचार्यका अनुसार यो अवधिमा सरकारी तथा गैरसरकारी संघसंस्थाको माध्यमबाट १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

सुरक्षित गर्भपतनका लागि सरकारले ५१ जिल्लामा ९ हप्तासम्मको अनिच्छित गर्भ रहेको अवस्थामा गर्भपतन गराउन औषधि उपलब्ध गराउँदै आएको छ। सरकारले तोकिएको चारवटा कम्पनीको २ प्रकारको औषधि मात्र औषधि व्यवस्था विभागमा दर्ता भए पनि खुला सिमाना र अनुगमनको बलियो आधार नभएकै कारण खुलेआम औषधि पसलहरूले १७ प्रकारका औषधि बेच्ने गरेको पाईएको पीएसआई नेपालका सरोज श्रेष्ठले बताउनुभयो।

यता आईपास नेपालले सन् २०१६ मा कृपा नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययनअनुसार नेपालमा दर्ता भएका र नभएका आयुर्वेदिक, होमियोप्याथी, एलोप्याथिक १ सय ३० भन्दा बढी प्रकारका औषधि असुरक्षित गर्भपतनका क्रममा प्रयोग हुँदै आएको पाइएकोे छ। औषधि व्यवस्था विभागमा दर्ता नै नभई प्रयोगमा आएका औषधि असुरक्षित हुनुका साथै महिलाहरूको जीवन नै जानेसम्मका खतरा निम्तिने गरेको पनि जनाएको छ। औषधि व्यवस्था विभागमा दर्ता भएका २ प्रकारका औषधि भने ९८ प्रतिशत सफल देखिएको रिपोर्टमा उल्लेख गरिएको छ।

नौ हप्तासम्मको गर्भपतनका लागि चिकित्सकको परामर्श लिएर मात्र औषधि प्रयोग गर्नुपर्ने र नौ हप्ताभन्दा बढी अवधिको १२ हप्तासम्मको उपकरणद्वारा गर्नुपर्ने हुन्छ। यता १२ हप्तामाथि १८ हप्तासम्मको बलात्कार तथा हाड नाता करणीका कारण गर्भ रहन गएमा चिकित्सकको पहिचानपछि सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीद्वारा विशेष उपकरण प्रयोग गरी गर्भपतन गर्न कानुनी व्यवस्था रहेको डा. वज्राचार्य बताउनुहुन्छ।

नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ। प्रजनन उमेरका ४१ प्रतिशत महिलालाई मात्र गर्भपतनका कानुनी ज्ञान भएको तथ्यांक सरकारको सर्भेक्षणबाट सार्वजनिक भइसकेको डा. वज्राचार्य बताउनुहुन्छ।

विश्वमा असुरक्षित गर्भपतनको तथ्यांकलाई हेर्दा प्रतिवर्ष झन्डै २० करोड ८० लाख महिलाहरू गर्भवती हुने गरेका छन्। तीमध्ये ५४ प्रतिशतले गर्भपतन गराउने गरेको पनि एक तथ्याङ्कले देखाएको छ। गर्भपतन गराउनेमध्ये ५१ प्रतिशतले सुरक्षित गराउँछन् भने ४९ प्रतिशतले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेका छन्। यसमा पनि १३ प्रतिशतको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ।

स्वास्थ्य मन्त्रालयले गरेको सन् २०१६ मा गरेको एक सर्वेअनुसार नेपाल परिवार नियोजन संघले कुल सुरक्षित गर्भपतनको १७ प्रतिशत सेवा दिएको उल्लेख गरेको छ। नेपालमा परिवार नियोजनको साधनको नाम लिनसमेत लजाउने बेलामा अस्थाइ र स्थायी परिवार नियोजनका साधन गाउँगाउँमा पुर्याउन संस्थाले निकै ठूलो भूमिका खेलेको पनि उल्लेख गरिएको छ।

सुरक्षित गर्भपतनकै विषयमा सञ्चारकर्मी बबिता बस्नेतले परापूर्व कालदेखिनै अनिच्छित गर्भ रहने र असुरक्षित गर्भपतन लुकीछिपी हुँदै आएको बताउनुहुन्छ। यसरी असुरक्षित गर्भपतनका कारण गर्भवती महिलाहरूको ज्यानै जाने तथा दीर्घ रोगी हुने र कानुनी रूपमा समेत ज्यान मुद्दा खेप्नुपर्ने बाध्यताको अन्त्य गर्दै २०५९ मा कानुन पारित भएको थियो।