काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा नसके ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२÷३३÷११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण पश्चात ताकेता गरेको हो । ताकेता गर्दा पनि निर्धारित समयमा काम सम्पन्न हुने गरी अघि नबढाए कारवाही हुनसक्ने बताइएको छ ।
काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको प्राधिकरणद्वारा आईतवार जारी प्रेस नोटमा जनाइएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए । त्यस लगत्तै घिसिङ आफै अनुगमनमा पुगेका हुन् ।
मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारण लाइन तथा सव स्टेसन र त्यस क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको हो ।











प्रतिक्रिया