काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा आइपुग्नु भएको छ ।
दुई दिने धार्मिक तथा साँस्कृतिक भ्रमणको लागि शुक्रबार बिहान जनकपुर आउनु प्रधानमन्त्री मोदी त्यहाँको कार्यक्रम सकेर काठमाडौ प्रस्थान गर्नु भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा नगर अभिनन्दन गरिएको थियो । जानकी मन्दिरमा पूजा र अभिनन्दनपछि काठमाडौ प्रस्थान गर्नु भएका प्रधानमन्त्री मोदीलाई काठमाडौमा पनि नगर अभिनन्दन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको अभिनन्दको लागि स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ ।
सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ ।
सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ । विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ ।
प्रधानमन्त्री मोदीको अभिनन्दनको जिम्मा काठमाडौ महानगर पालिकालाई दिइएको छ । भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सरिक भएर अभिनन्दनमा सहभागी हुने कार्यतालिका छ ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ । महानगरको तर्फ मेयर विद्या सुन्दर शाक्यले अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने मार्गहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उहाँको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । उहाँ सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ ।
काठमाडौँमा शुक्रबार बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् । प्रधानमन्त्री मोदीले शनिबार मुक्तिनाथको दर्शन गर्ने र त्यसपछि स्वदेश फर्कने कार्यक्रम छ ।












प्रतिक्रिया