काठमाडौं, (नेस)
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि शनिबार पशुपतिनाथको दर्शन र विशेष पूजा गर्नुहुने भएको छ। मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएलगत्तै उहाँले पशुपतिको पूजा गर्ने कार्यतालिका तय भएको हो।
शनिबार बिहान सबेरै मोदी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्दै हुनुहुन्छ। त्यहाँबाट फर्किएपछि बिहान साढे १० बजेपछि उहाँले पशुपति दर्शन गर्ने समय तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मोदीले विशेष पूजा गर्ने वा केही बेर दर्शन मात्रै गर्ने भन्नेबारेमा अझै निधो भइनसकेको कोषका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार उप्रेतीले बताउनुभयो।
‘उहाँले दर्शन गर्ने भएपछि विशेष पूजा–आजा नै हुन सक्छ, तर यसबारेमा अहिलेसम्म विस्तृत जानकारी आएको छैन’ –बिहीबार साँझ उप्रेतीले नेपाल समाचारपत्रसँग भन्नुभयो। यसअघि सार्वजनिक भएको भ्रमण तालिकामा मोदीले पशुपति दर्शन गर्ने तालिका समेटिएको थिएन। ४ दिनअघि मात्रै कोषलाई यसबारेमा अवगत गराइएको हो।
४ वर्ष अघिको भ्रमणका क्रममा मोदीले पशुपतिनाथमा करिब एक घन्टा विशेष पुजा–आजा गर्नुभएको थियो। यसपटक उहाँ कति समय अवधिभर पशुपतिमा रहने भन्ने विस्तृत जानकारी नआएको उप्रेतीले बताउनुभयो।











प्रतिक्रिया