चार अध्यादेश स्वीकृत


नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभाको बुधबारको बैठकमा ४ वटा अध्यादेश स्वीकृत भएका छन्। तीमध्ये कानुनमन्त्री शेरबहादुर तामाङले सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवा, सर्त र सुविधासम्बन्धी अध्यादेश २०७५, राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश, २०७५ बुधबारको बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्नुभएको थियो।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ प्रस्तुत गर्नुभएको थियो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियसभा अध्यादेशबाहेक अरू विधेयक अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

सुवालको प्रस्तावमा उहाँबाहेक कसैले समर्थन गरेनन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवा, सर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५ मा कानुनमन्त्रीले जवाफ दिएपछि सुवालले समेत विधेयक प्रस्तुत गर्न स्वीकृति जनाउनुभएको थियो। सम्बन्धित मन्त्रीले उहाँले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो।

बुधबारको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफादार छलफल गरियोस् भनी सभापति कृष्णभक्त पोखरेलले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि दलहरूबीच सहमति नभएकाले प्रस्तुत भएन। उहाँले दलहरूबीच सहमति नभएकाले नियमावली प्रस्तुत नगरिएको जनाउनुभयो।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयको विवाद प्रतिनिधिसभा नियमावलीमा कायमै छ। नियमावलीमा एकल र संयुक्त गरी ६ वटा संशोधन परेका छन्। संसद्को शुरूमा विशेष समयमा सांसदहरूले बोलेका थिए। मंगलबार राति आएको हावाहुरीले सप्तरीमा ठूलो धनजनको क्षति पुर्याएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवले सरकारले राहत तथा उद्धारको काममा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो।

नेकपा एमालेका कञ्चनपुरका सांसद नरबहादुर धामीले भारत प्रशासन र भारतीय सुरक्षाकर्मीले पटकपटक सीमामा आएर नेपालीलाई दुःख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले मोदीको नेपाल भ्रमणको बेला सीमामा देखिएका समस्याबारे आवाज उठाउन सरकारसँग आग्रह गर्नुभयो। नेमकिपाका सांसद् प्रेम सुवालले मोदी नेपाल आउने भनेको सुनिएको भए पनि आउने नआउने, किन र कहिले आउने भन्नेबारे सदनमा जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले भारतले पटकपटक नेपाललाई आर्थिक सहयोग गर्ने घोषणा गरे पनि सहयोग नगरेको भन्दै आपत्ति जनाउनुभयो।

संसद्को विशेष समयमा सांसद्हरू देवेन्द्रराज कडेल, पवित्रा निरौला खरेल, सुदन किराँती, उमाशंकर अरगरियाले समसामयिक विषयमा बोल्नुभएको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५⁄०७६ को बिनियोजन विधेयक र प्राथमिकताका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तावमाथि आज बिहान ११ बजे बस्ने बैठकले छलफल गर्नेछ। सरकारको नीति तथा कार्यक्रम जेठ १ गते र जेठ १५ गते आर्थिक वर्ष २०७५⁄०७६ को बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ।

 

परराष्ट्रमन्त्रीद्वारा जानकारी

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबारको संसद् बैठकमा सार्वजनिक जरुरी महत्त्वको प्रस्ताव पेस गर्नुभयो।

बैठकमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको आवश्यकता र औचित्यबारे सांसदहरूले प्रश्न उठाएर जिज्ञाशा राखेपछि उहाँले त्यसबारे जानकारी दिनुभएको हो। मन्त्री ज्ञवालीले मोदीको भ्रमण शुक्रबाट २ दिन हुने प्रस्ट पार्नुभयो।

उहाँले जनकपुरबाट शुरू हुने भ्रमणमा सबैभन्दा पहिला राष्ट्रपति, उप–राष्ट्रपतिसँग भेट, दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन र त्यसपछि आफूसँग भेट गर्ने जनाउनुभयो। मन्त्री ज्ञवालीले मोदीलाई जनकपुर नगरपालिका र काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्ने जानकारी दिनुभयो।