निलम्बित प्रहरी अधिकारीले आधा तलब पाउने


प्रशान्त वली, काठमाडौं
सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्वनमा परे पनि आधा तलब भने पाउने भएका छन्। उनीहरूले निलम्बनमा परेको दिनदेखि लागू हुने गरी कुल तलबको ५० प्रतिशत पाउने प्रहरी प्रधान कार्यालयले बताएको छ।
प्रहरी प्रवक्ता मनोज नेउपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘निलम्बनमा परेको दिनदेखि प्रहरीको तलब मासिकरूपमा आधामात्रै पाउने व्यवस्था छ। अदालतको आदेशलाई स्वीकार्नुपर्ने भन्दै दोषी ठहर भएमा कारबाही भोग्न प्रहरी अधिकारीहरू तयार हुनैपर्छ।’

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका अभियुक्तहरूलाई दोषी ठहरिए के कारबाही हुने भन्ने विषयले चर्चा पाउन थालेको छ। यस प्रकरणमा प्रहरी उच्च अधिकारीदेखि व्यापारीसम्म मुछिएका छन्। मोरङ जिल्ला अदालतका श्रस्तेदार नवराज दुलालले अभियुक्तहरूको बयान लिने काम सकिएपछि के कारबाही हुने भन्ने निक्र्योल गर्न सकिने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बयान लिने क्रम जारी छ। बयानका आधारमा कुन ऐन आकर्षित हुन्छ। जुन ऐन आकर्षित हुन्छ त्यही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्छ।’

मोरङ जिल्ला अदालत स्रोतका अनुसार कर्तव्य ज्यानअन्तर्गत मुलुकी ऐन, शरीर बन्धक ऐन, संगठित अपराध निवारण ऐन २०७० आकर्षित हुन सक्ने देखिएको छ। संगठित अपराध निवारण ऐन २०७० मा कसैले कुनै आपराधिक समूहलाई संगठित अपराध गर्न वा संगठित अपराध गर्न सघाउ पु¥याउने कुनै काम जानी नजानी गरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पु¥याउने वा सञ्चारसाधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा संगठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्नु वा गराउनुलाई अपराध भनिएको छ।

त्यसो गरे ३ वर्षभन्दा बढी कैद सजाय हुने सो ऐनमा उल्लेख छ। अपहरण तथा शरीर बन्धक बनाउनेलाई ७ देखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने कानुनी व्यवस्था छ। संगठित अपराध गरेको आरोप लागेको व्यक्तिले त्यस्तो अपराधबाट प्राप्त गरेको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न वा बिक्रीवितरण गर्न वा कुनै उपायले लुकाउन वा परिवर्तन गर्न सक्छ भन्ने लागेमा सम्पत्ति रोक्का गर्न सक्नेछ। बहालवाला रहेका प्रहरी कर्मचारीको जागिर भने निलम्वनमा परेको छ। सुन प्रकरणमा मुछिएका बहालवाला एसएसपी दिवेश लोहनी, पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी र सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका थिए। यो समाचार तयार पार्दासम्म अभियुक्तहरू टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ, चाचाजी भन्ने महावीरप्रसाद गोल्यान अग्रवाल, एलबी भनिने लालबहादुर मगर, राजेन्द्रकुमार शाक्य, बालकृष्ण सञ्जेल, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृष्ण श्रेष्ठ, कपिलराम पुरी र दोराम खत्रीले बयान दिएका छन्।

मोरङ जिल्ला अदालतका श्रेस्तेदार दुलालका अनुसार वैशाख अन्तिमसम्ममा सबैको बयान लिइसकेर थुनछेकको बहस शुरू गर्ने तयारी छ। मोरङ प्रहरीले ३० जनासहित फरार भनिएका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अभियोगपत्र जिल्ला अदालत मोरङमा बुझाएको थियो। उनीहरूविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपियाँ ९० पैसा बिगो माग दाबी गरिएको छ। फागुन १८ गते सुन तस्करीमा संलग्न समूहका व्यक्तिहरूले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेका थिए।