सडक विस्तारमा स्थानीयको दबाब


नेपाल समाचारपत्र
काठमाडौं
सीतापाइला–रामकोट–भीमढुंगा सडक विस्तार कार्य सुस्त भएपछि स्थानीयले निर्माण कार्यका लागि दबाब दिएका छन्। तोकिएकै अवधिमा सडक विस्तार गर्न स्थानीयले खबरदारी गरेका हुन्।

सीतापाइला चोकदेखि कुल १० किलोमिटर विस्तार हुन शुरू गरेको सो सडक अहिलेसम्म ४० प्रतिशत हाराहारीमा मात्रै सम्पन्न भएको छ। २०७२ फागुनदेखि कार्य शुरू भएको सडक ठेक्का सम्झौताअनुसार २०७५ साउन दोस्रो सातासम्ममा सम्पन्न हुनुपर्ने हो। जयबाबा कन्स्ट्रक्सन र सीएम कन्स्ट्रक्सनले ५÷५ किमी सडक विस्तार गर्ने जिम्मेवारी पाएका छन्।

सडक विस्तारले गति लिन नसक्दा पानी परेको बेलामा २ पांग्रे, साना र मझौला सवारी ओहोर–दोहोरमा समस्या भएको स्थानीय बताउँछन्। ‘पानी प¥यो भने सडक पूरै हिलाम्य हुन्छ, हिँड्न सबैलाई समस्या छ, मोटरसाइकल नलडेको त दिन नै हुँदैन’ –नागरिक समाजका अगुवा सानुराजा पुरी भन्नुहुन्छ। जनप्रतिनिधि मुकदर्शक बन्दा सडक विस्तारले गति नलिएको उहाँको भनाइ छ। २ साताभित्र सडकमा सहज ढंगले सवारीसाधन गुड्ने वातावरण नभएमा नगरपालिका, सडक विभाग र अन्य निकायसमेत घेराउ गर्ने तयारी भएको पुरीले बताउनुभयो।

तत्काललाई कुल ११ मिटर चौडाइ हुने यो सडक भविष्यमा नागार्जुन नगरको ‘लाइफ लाइन’ बन्ने अपेक्षा गरिएको छ। काठमाडौं–धादिङको धार्के जोड्ने यो वैकल्पिक सडक पनि हो। कलंकीदेखि नौविसे सडकखण्डमा हरेक दिन सवारी जाम बढ्ने गरेकाले कुल ३५ किमीको सीतापाइला–धार्के वैकल्पिक सडक बन्न सक्ने बताइएको छ। विगतमा बडादशैंका बेला गोरखा दरबारबाट यही मार्ग हुँदै वसन्तपुरस्थित हनुमान ढोकामा पूmलपाती भिœयाउने गरिन्थ्यो।

३ वर्षदेखि सडक विस्तार शुरू भए पनि ठेकेदार, सडक डिभिजन कार्यालय र स्थानीय निकायबीच तालमेल नहुँदा अहिले सडकको दूरावस्था भएको स्थानीय बताउँछन्। सडक विस्तारका लागि दायाँ–बायाँ भत्काउने र केही सीमित ठाउँमा वालमात्रै लगाइएकाले वर्षा अवधिभर सडक पूरै हिलाम्य हुने आशंका गर्दै स्थानीयले नगरपदाधिकारी, प्रदेश र प्रतिनिधिसभाका सांसद, सडक विभागका प्रतिनिधिलगायतको ध्यानाकर्षण गराएका छन्। सडक विस्तारमा छाएको सुस्तता हटाउन सबैले ऐक्यबद्धता जनाएकाले तोकिएकै अवधिमा निकास निस्कने अपेक्षा गरिएको सो नगरका मेयर मोहन बस्नेतले बताउनुभयो।