समाजसेवी हाकु महर्जन दम्पतीको भीमरथारोहण


ललितपुर, (नेस)
ललितपुर लोंलका स्थानीय समाजसेवी हाकु महर्जन दम्पतीलाई बिहीबार नेवारी परम्पराअनुसार पहिलो ज्या जंकु (भीमरथारोहण) गरियो।
समाजसेवी महर्जन ७७ वर्ष ७ महिना ७ दिन ७ घडी पुगेको अवसरमा नेवारी बौद्ध परम्पराअनुसार महर्जन दम्पतीलाई विशेष पूजाआजा गरी भीमरथारोहण गरिएको थियो। साथमा उहाकी श्रीमती बेटीमाया महर्जनको पनि भीमरथारोहण गरिएको थियो।

महर्जन दम्पतीलाई पूजा गरी खटमा राखेर लगनखेल इतिस्थित मच्छिन्द्रनाथ र मीननाथ राखिएको स्थान, हिरण्यवर्ण महाविहारलगायत विभिन्न देवीदेवताको दर्शन गराइएको थियो। नगर परिक्रममाको क्रममा परम्परागत बा“सुरी बाजा र धिमे बाजाका साथ हाकुपटासीमा सजिएका महर्जन दम्पतीको करिब सय जना नारीले सुस्वास्थ्य, दीर्घायु, मंगल कामनाका साथ पूजा गर्दै उनीहरूको खट अघि बढाएका थिए।