तीन दिन अन्नपूर्ण पदयात्रा बन्द गरिने


दुर्गाप्रसाद शर्मा, पर्वत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी हप्ता मुस्ताङस्थित प्रशिद्ध तीर्थस्थल मुक्तिनाथको धार्मिक भ्रमण गर्ने भएपछि सुरक्षा, स्वागत र अन्य तयारीलाई तीव्र पारिएको छ।

मन्दिर परिसर सरसफाइ, भीआईपी कक्षको सजावट, नयाँ हेलिप्याड बनाउने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो। नेपाल प्रहरी, सशस्त्र, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको उहाँले बताउनुभयो।

‘भ्रमणको औपचारिक पत्र नआए पनि भ्रमण हुन सक्ने भनिएकाले आवश्यक तयारी भइरहेको छ’, उहाँले भन्नुभयो– ‘सुरक्षा र अन्य कुनै समस्या नहोस् भनेर स्थानीय तहदेखि सबै संयन्त्र परिचालन गरिनेछ।’ भ्रमणको तयारीका लागि बुधबार भारतीय वायु सेनाका अजय कुमारको नेतृत्वमा आएको टोलीले सुरक्षा र अन्य वस्तुस्थिति बुझेर फर्किएको छ। अहिले मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन्। थप एउटा हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो।

भ्रमणलाई लक्षित गरेर बेनी–जोमसोम सडक ३ दिनका लागि खुला गरिने भएको छ। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक ८ घण्टा बन्द गरिँदै आएको छ। यसै गरी संसारकै उत्कृष्ट गन्तव्य मानिने अन्नपूर्ण सर्किट भएर मुक्तिनाथ आउने पर्यटकलाई ३ दिन मनाङमै रोक्ने तयारी भएको छ। थोराङ्लापास भएर फर्कने पर्यटकलाई २८, २९ र ३० गते उपल्लो मनाङमै रोक्न र त्यस क्षेत्रमा आवत–जावतमा निगरानी बढाउन मनाङसँग समन्वय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।

‘सुरक्षाका कारणले पदयात्रा ३ दिन रोक्नुपर्ने देखिएकाले मनाङसँग समन्वय भइरहेको छ।’ –उहाँले भन्नुभयो। मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ। समितिले सांस्कृतिक झलक देखाउने तयारी गरिरहेको छ।