काठमाडौँ । विश्व तथ्यांकअनुसार प्रौढ महिलामा पिसाब चुहिने समस्या ४० प्रतिशतसम्म देखापर्छ । नेपालमा यो समस्याको व्यापकता खासै अध्ययन भएको छैन । खुलेर या समस्या भन्न नरुचाउने महिलाको बहुमत भएकोले वास्तविक आँकडा पाउन पनि सजिलो छैन । यथार्थमा पिसाब चुहिने समस्या महिलाहरूमा मात्र होइन, पुरुषमा पनि विद्यमान हुन्छ । तर महिलाको दाँजोमा त्यो निकै कम देखापर्छ ।
महिलामा पिसाब धेरै अवस्थामा चुहिने गर्छ । त्यसमध्धे सामान्य मूत्र संक्रमणदेखि लामो समयसम्म जन्मिन नसकेको बच्चाको टाउकोले मूत्र प्रणालीको तल्लो भागमा थिचेर रक्त सञ्चारमा हानि पुर्याई पारेको प्वालबाट पिसाब चुहिराख्ने अवस्था सिर्जना गर्न सक्छ । यस्तो प्रकारले बनेको घाउलाई मूत्राशय योनि फिस्टुला भनिन्छ ।
खोक्दा, हाछ्युँ गर्दा, गह्रुङ्गो बोझ उठाउँदा, यौन सम्बन्ध राख्दा वा त्यस्तै अरू कारणले पेटभित्र एक्कासी चाप बढेको स्थितिमा त्यो चाप मूत्रथैलीभित्र प्रेषित हुन्छ । यस्तो अवस्थामा मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग एक्कासी खुलेको खण्डमा पिसाब रोक्न सकिँदैन । विभिन्न कारणवश पिसाब चुहिने समस्या भएका महिलामध्ये चाप सम्बद्धको संख्या ५० प्रतिशत हुन्छ । महिलामा पिसाब नलीको बीचको भागलाई झोलुङ्गे आकारको संरचनाले आधार दिएको हुन्छ ।
यो संरचनाको बनावटमा मलद्वार उठाउने मांसपेशी तथा विभिन्न मांसपेशीबाट निस्केको सुत तथा पट्टीले बनेको हुन्छ । तर विभिन्न कारणवश जस्तै– प्रसव क्रिया, नसाको कमजोरी, उमेर, योनि चनाको अवयवमा आएको फरकले झोलुङ्गे आधारलाई कमजोर बनाउँछ । फलस्वरूप त्यसले दिएको टेवाले मूत्रथैलीभित्र बढेको चापलाई धान्न सक्दैन, मूत्रनली खुल्छ र पलभरमै पिसाब चुहिन्छ । पेटभित्र एक्कासी चाप बढ्दा पिसाब संयम (नचुही) रहन कम्तीमा तीन प्रक्रिया तथा प्रणाली समर्थित हुन्छन् ।
सर्वप्रथम पेटभित्र एक्कासी बढेको चाप मूत्रनलीको सुरुको भागमा प्रेषित हुनासाथै मूत्रनलीको मुन्द्रा आकारको मांसपेशी निर्मित बाहिरी ढोका सुरक्षा दिने प्रतिक्रियाको सहयोगले तुरुन्तै खुम्चन्छ । फलस्वरूप अस्थायी रूपमै भए पनि पिसाब चुहिनुबाट रोक्छ । पेटभित्रको चाप मूत्रनलीको सुरुतिर सञ्चार हुँदैमा त्यसलाई सम्पूर्ण मूत्रनलीभित्र बढेको चापको कारण मान्न सकिन्न । किनकि मूत्रनलीभित्रको चाप खोकीको चाप प्रेषण हुनु अगावै बढिसक्छ । त्यसले के देखाउँछ भने महिलामा पिसाब नचुहिने भनेको सक्रिय स्नायु प्रणाली मेक्यानिजम यन्त्र क्रिया हो ।
पेटबाट प्रेषण भएको चापले मूत्रनलीको लचिलो अग्रभागलाई पछाडिको दह्रो भागतिर धकेलेर थिचिदिन्छ । तर मूत्रनलीको पछाडिको भागलाई दह्रो रहन प्रशस्त मात्रामा कटीको मांसपेशी र संयोजक तन्तुको आधार हुनुपर्छ । त्यसैले महिलामा पिसाब नचुहिनु भनेको मांसपेशीको सक्रिय स्थिति, कडापन र निष्क्रिय शारीरिक समायोजन कार्यको परिणाम हो । पिसाब चुहिने महिलाहरूमा मूत्रनली तथा त्यसलाई आधार दिने वरिपरिका मांसपेशीको सक्रियतामा कमी देखापर्छ ।
त्यसको अलावा ती मांसपेशी लुलो हुँदै जान्छन् । थप मूत्रनलीभित्रका झिल्ली जसले आपसमा टाँसिएर पिसाब नचुहिनुका निम्ति ३० प्रतिशत शक्ति प्रदान गर्छन्, त्यस्तो जोल्ठिने गुणको पनि अभाव हुँदै जान्छ । महिलामा चापसम्बद्ध पिसाब चुहिने अवस्थाको मुख्य कारण कटीको समतल भागको मांसपेशी, स्नायुहरू, संयोजक तन्तुजस्ता महत्त्वपूर्ण अङ्गमध्ये एक वा प्रायस्जसो सबैको क्षति हुनु हो ।
महिलामा चाप सम्बद्धको अलावा एउटा अर्को यस्तो पिसाब चुहिने स्थिति हुन्छ, जसमा पिसाब नलागुन्जेलसम्म एक्कासी पेटभित्र चाप बढ्दैमा पिसाब चुहिन्न । तर जब महिला पिसाब फेर्ने अनुभव गर्छिन्, तब उठेर जाँदाजाँदै बीचैमा पिसाब चुहिने गर्छ । यस्तो अवस्थामा जति बल गर्दा पनि पिसाब रोक्नै सकिन्न । यो अविलम्ब मूत्र चुहिने कारण एक्कासी मूत्रथैलीको मांसपेशी खुम्चिनु र थैलीको घाँटी र मूत्रनली खुल्नु हो । यस्तो पिसाब चुहिने समस्या महिलामाझ १६ प्रतिशत देखापर्छ ।
माथि उल्लेखित दुबै थरीका पिसाब चुहिने समस्याको मिश्रण आफैमा अर्को प्रकारको समस्या हो, जो महिलामाझ ३४ प्रतिशत देखापर्छ । यस्तो पिसाब चुहिने समस्यामा योनिको खुकुलोपन र योनि वरिपरिको संरचनामा विकसित भएको शिथिलताबाट उत्पन्न हुने गर्छ ।
–एजेन्सीको सहयोगमा











प्रतिक्रिया