हिमालमुनिका कलाकृति प्रदर्शनीमा


नेपाल समाचारपत्र
काठमाडौं,
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित कार्यशालामा सिर्जना गरिएका हिमालमुनिका कलाकृति प्रदर्शनीमा राखिएका छन्। कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रामार्ग र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको पहिलो चरणमा अन्नपूर्ण आधार शिविर र दोस्रो चरणमा छाम्रोङमा कला कार्याशाला सञ्चालन गरिएको थियो।

सोही कला कार्यशालामा सहभागी भएका वरिष्ठ कलाकारद्वय क्षेत्रलाल कायस्थ र आलोक गुरुङ एवं प्राज्ञ नगेनसिंह ठकुरीद्वारा सिर्जना गरिएका ४५ वटा कलाकृति प्रदर्शनीमा राखिएका छन्।

काठमाडौंस्थित तारागाउँ म्युजियममा मंगलबारदेखि शुरू भएको प्रदर्शनी वैशाख २४ गतेसम्म चल्ने महोत्सव प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयो। पानी तथा तेल रङले पोतिएका कलाकृतिको मूल्य ९ हजारदेखि १ लाख रुपियाँसम्म तोकिएको छ।

यसैबीच हिमालमुनिका कलाकृतिको प्रदर्शनी शुभारम्भ गर्दै अन्नपूर्ण काठमाडौं समाज नेपालका अध्यक्ष मनप्रसाद गुरुङले कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्गको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयोे। नेपाल सरकारका सहसचिव एवं समाजका उपाध्यक्ष झलकराम अधिकारीले समग्र अन्नपूर्ण क्षेत्रको पूर्वाधार विकास गरी पर्यटन पवद्र्धनमा चित्रकलाका माध्यमबाट गरिएको प्रचार दिगो र चीरस्थायी हुने बताउनुभयो।

त्यसैगरी समाजका महासचिव एवं नेपाल सरकारका उपसचिव विष्णुप्रसाद अधिकारीले अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि सरोकार निकायसँग हातेमालो गरी अघि बढ्न आफूहरू तयार रहेको बताउनुभयो। कार्यक्रममा वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, महोत्सवका सल्लाहकार एवं नेप्लिज फेस्टिबल प्रालिका अध्यक्ष यामनाथ सापकोटालगायतले विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर र त्यहाँको जनजीवनको सशक्त प्रस्तुति कलाकृतिमा पाइने विचार व्यक्त गरेका थिए।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणअन्तर्गत आउँदो जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन दौडसहित विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न गर्ने तयारी गरिएको छ। यसैबीच तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनको सहआयोजक अन्नपूर्ण काठमाडौं समाजले काठमाडौंबाट प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

मई दिवसमा मजदुरको सहभागिताः वर्तमान सरकारले एकलौटी रुपमा यातायात क्षेत्रका संघसंस्थाहरू खारेज गर्दै गर्दा त्यहाँ कार्यरत हजारौं र लाखौं श्रमिकहरूको रोजगारी विस्थापन हुने भएकोमा मजदुर दिवसका अवसरमा त्यसको विरोधमा नेपाल यातायात मजदुर संघ सम्वद्ध श्रमिक मजदुरहरू सो सरकारी निर्णयको विरोध गर्दै । तस्वीरः नेपाल समाचारपत्र