एमाले–माओवादी एकता, ओलीसँग प्रचण्ड सशंकित


मधुसूदन रायमाझी, काठमाडौं
पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ।

पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ।

ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन। दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन्।

ओली र प्रचण्डले पार्टी एकता हुने दाबी गर्दै आएका छन्। एकता प्रक्रियाबाट पछाडि फर्किने विकल्प नै नभएको बताए पनि पार्टी एकता गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डको बीचमा पछिल्लो समयमा आशंका र अडानका कारण वार्ता फलदायी हुन सकेको छैन।

पार्टी एकता संयोजक समितिले विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको छ। तर, दुई अध्यक्षले सहमति जुटाउन नसकेकोप्रति एकता संयोजक समितिका सदस्यहरूले नै असन्तुष्टि जनाउन थालेका छन्।पार्टी एकताको विषयमा एकता संयोजक समितिमा व्यापकरूपमा छलफल हुनुपर्ने भए पनि दुई अध्यक्षबीच मात्र कुरा हुँदा झन् एकता प्रक्रियालाई कठिनाइ थपेको निष्कर्ष एकता संयोजक समितिका सदस्यहरूले निकाल्न थालेका छन्।पार्टी एकता गर्नका लागि गठित कार्यदलले विवादित विषयसहित बुझाएको प्रतिवेदनमाथि अझै सहमति जुट्न सकेको छैन।

प्रतिवेदनमा जनयुद्ध, चुनाव चिन्हलगायतको विषयमा सहमति जुट्न सकेको थिएन। एकता संयोजक समितिको बैठकले पनि सो विषय टुंगो लगाउन नसकेपछि दुई अध्यक्षले विवादको टुंगो लगाउने जिम्मेवारी पाएका थिए। तर, दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा एकता प्रक्रिया नै अन्योलमा परेको छ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन गत वैशाख ९ गते नै एकता गर्ने तयारी गरेर आन्तरिक गृहकार्य गरे पनि सहमति जुट्न नसक्दा पार्टी एकता हुन सकेन। कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन ब्यानरको विवादले गर्दा दुई पार्टीबीच विश्वासभन्दा आशंका र अविश्वास जन्माएको छ। एमालेका नेताहरूले अध्यक्ष ओलीलेलाई समान हैसियतमा पार्टी एकता नगर्न दबाब दिएका छन् भने माओवादीका नेताहरूले अध्यक्ष प्रचण्डलाई समान हैसियतबिना कुनै पनि हालतमा पार्टी एकता प्रक्रियामा जान नहुने दबाब रहेको बताइएको छ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एकताका बारेमा के भइरहेको छ थाहा नै नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कुरा नमिलेर पार्टी एकता हुन सकेको छैन, अब यसरी हुँदैन एकता संयोजक समितिको बैठकमा छलफल हुनुपर्छ।’ उहाँले एकता संयोजक समितिमा रहेकाहरूले पार्टी एकता प्रक्रियालाई छिटो टुंगो लगाउन भूमिका खेल्ने बताउनुभयो। वरिष्ठ नेता खनालले भन्नुभयो– ‘पार्टी एकता हुनुपर्ने हो, ढिलासुस्ती भइरहेको छ, दुई अध्यक्षको बीचमा के भइरहेको छ, केही जानकारी नै छैन।’

प्रतिवेदनमा समावेश विवादित विषयसँगै पछिल्लो चरणमा प्रधानमन्त्री ओलीको कार्यशैलीसँग माओवादी सशंकित बनेको छ। सचिवहरूको सरुवा, भारत भ्रमण र ब्यानर बनाउने क्रममा ओलीले एकलौटी ढंगले अगाडि बढेको माओवादी केन्द्रको निष्कर्ष छ। बजेट निर्माणका क्रममा समेत एमालेले माओवादीसँग कुनै परामर्श नै नगरी अगाडि बढेको माओवादी केन्द्रका एक नेताले बताए।

गृहअन्तर्गत हुनुपर्ने अनुसन्धान विभागलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मातहत लैजाने निर्णय गरेपछि गृहमन्त्री रामबहादुर थापासमेत ओलीको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै आउनुभएको छ। ती नेताले भने– ‘ओलीको कार्यशैली एकतर्फीरूपमा अगाडि बढेको आभाष हामीलाई भएको छ, जसका कारण एकता प्रक्रियामा नै असर पार्न सक्छ।’

प्रधानमन्त्री ओली भारत जानुअघि सत्तारूढ दल माओवादी केन्द्रसँग कुनै परामर्श नगरेको भन्दै प्रचण्डले असन्तुष्टि राख्दै आएको बताइएको छ।

पार्टी एकता गर्ने दाबीसँगै दुवै पार्टीभित्रको आन्तरिक गृहकार्य सुस्त भएको छ। माओवादी केन्द्रले पार्टीबाट एकता प्रक्रियामा जाँदा कति केन्द्रीय सदस्य हुने भन्ने विषयमा छलफल नै गरेको छैन। एमालेसँग समान हैंसियतमा भागबण्डा मिलेपछि मात्र एकता प्रक्रियामा जाने केन्द्रीय सदस्यहरूको टुंगो लगाउने भएको छ। माओवादी केन्द्रभित्र केन्द्रीय सदस्यमा पार्न अध्यक्ष प्रचण्डलाई ठूलो दबाब रहेको छ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले सचिवहरूको सरुवा, भारत भ्रमणलगायतको विषयमा सामूहिक छलफल गर्नुको सट्टा प्रधानमन्त्री ओली एकलौटी ढंगले अगाडि बढेको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘समान हैंसियतविना पार्टी एकतामा जान माओवादी तयार छैन, पार्टी एकता गर्दा समान हैंसियतमा एकता हुनुपर्छ भन्ने हाम्रो अडान हो।’ ओली र प्रचण्डबीच देखिएको अविश्वासका कारण पार्टी एकता प्रक्रियामा अन्योल सृजना भएको छ।