‘प्री मनसुन’ को प्रभाव अझै रहने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । केही दिनयता सक्रिय बनेको ‘प्री मनसुन’को गतिविधी अझै केही दिन दोहोरिने भएको छ । हल्का र मध्यमस्तरको वर्षा जारी रहने भएको हो ।


भारतको पूर्वी विहार, पश्चिम बंगाल र बंगादेशको उत्तरी भागमा (न्यून चापिय क्षेत्र) वर्षा गराउने प्रणाली विकास भएकाले प्री मनसुन अझै सक्रिय रहने भएको हो । न्यून चापिय क्षेत्रको प्रभाव नेपालको लगभग सबै क्षेत्र, भारत, भुटानका धेरै भू–भाग सहित बंगलादेशको अधिकांश क्षेत्रमा अहिले प्री मनसुन गतिविधी दोहोरिएको मौसमविद्ले जनाएका छन् ।


समुद्र सतहबाट १ हजार ५ सय मिटर उचाईका हाराहारीमा विकास भएको न्यून चापिय क्षेत्रका कारण पर्याप्त मात्रामा जलवाष्पयुक्त वायु फैलिएकाले प्री मनसुन सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । ‘वायुमण्डलको तल्लो तहमा न्यून चापिय क्षेत्र र माथिल्लो तहमा भू–मध्य सागरबाट भित्रिएको पश्चिमी वायुको दोहोरो प्रभावले अहिले मौसम प्रभावित बनेको हो’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

यस्तो क्रम मुलुकका अधिकांश भू–भागमा अझै २/३ दिनसम्म दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रष्ट नखुल्ने, मेघ गर्जन सहित हल्का र मध्यम स्तरको वर्षा दोहोरिने मौसमविद् बताउँछन् । आइतवार अपरान्ह्रसम्ममा ओखलढुंगामा ३४ र विराटनगरमा ३२ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसैगरी नेपालगञ्ज र सिमरामा २७÷२७, धनकुटामा २५, दाङमा २४, भैरहवामा २२, ताप्लेजुङमा १६ र मुलुकका धेरै भू–भागमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।