दुइ वर्ष पछि राखियो मनकामनामा सुनको गजुर !

0
Shares

सन्तोष अधिकारी, गोरखा ।

गोरखाको प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गजुर राखिएको छ । सोमबार चण्डी पुर्णिमाको अबसरमा साईत हेरेर मुख्य पुजारी इन्सान थापा मगर लगायतले संयूक्त रुपमा मन्दिरको गजुर राखेका हुन ।

मन्दिर जिर्णाेद्धारको काम चलिरहेपनि उपयुक्त साईत सोमबार रहेकोले गजुर राखिएको जिर्णाेद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । ‘माथिल्लो छानामा जलप लगाइसकियो’ मनकामना मन्दिर जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने ‘अब दोस्रो तलामा छाना हाल्न मात्रै बाँकी छ ।

हामीले सोमबारलाई उपयुक्त साईत देखेकोले गजुर राख्ने दिन तयगरेका थियौँ ।’ बाजागाजाका साथ विशेष पुजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो ।

‘अहिले सम्म सात किलो सुनले गजुर र माथिल्लो तलाको छानामा जलप लगाउने काम सिध्याइयो’ उनले भने । पुरानो गजुर मर्मत गर्न मात्रै २० लाख रुपैँया खर्च भएको उनको भनाई छ । १६ किलो सुनले मन्दिरको छाना, ढोका, नागकन्या लहरीमा जलप लगाउने श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकार पुरातत्व विभागबाट आएको चार करोड रुपैँयाले यस अघि नै सात किलो सुन किनिएको थियो । ‘पहिलेको मन्दिरमा पनि नौ किलो सुनको जलप लगाइएको थियो’ उनले भने ‘अब हामीले कसरी हुन्छ दिर्घकालिन बनाउनु छ । त्यसैले ढिलै होस् बरु बाक्लो र राम्रै होस भनेर पहिलेको भन्दा धेरै खर्च गरेर राम्रो बनाउन लागेका छौँ ।’ जिर्णाेद्धार समितीले स्वयम्भूनाथ, बौद्धनाथ मन्दिरमा सुन लगाएकाहरु सँग छलफल गरेर मनकामना मन्दिरमा सुनको जलप लगाएको हो ।

अहिले मनकामना मन्दिरको जिर्णाेद्धारको काम ९० प्रतिशत काम सम्पन्न भएको जिर्णाेद्धार समितीेले जनाएको छ । २०७२ असार देखि मन्दिर भत्काएर जिर्णाेद्धारको काम सुरु भएको हो । पूरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो । मनकामना मन्दिर भूकम्पका कारणले पनि थप जिर्ण भएको थियो ।

‘अहिले मन्दिरको ९० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको छ’ जिर्णाेद्धार समितीका अध्यक्ष श्रेष्ठले भने ‘जलप लगाउने काम सबै भन्दा समस्या हुने र धेरै समय लाग्ने गाह्रोको काम हो ।’ अब मन्दिरमा केहि टुँडालहरु खोप्ने, झ्याल ढोका र तल्लो छानामा जलप लगाउने काम मात्र बाँकी रहेको छ ।

मनकामना मन्दिर जिर्णाेद्धारका लागि नेपाल सरकारले चार करोड र भक्तजनबाट करिब नौ करोड रुपैँया संकलन भएको उनले बताए । २०६८ मा पुरातत्व बिभागले गरेको अध्ययन अनुसार मन्दिर पुनर्निर्माणमा आठ करोड रुपैंया लगानी गर्नुपर्ने बताइए पनि महंगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तिमा १५ करोड रुपैंया आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ ।

जिर्णाेद्धारका लागि अहिले पनि दिनदिनै मन्दिर आउने भक्तजनहरुले मन्दिर निर्माणको लागि रकम सहयोग गरिरहेका छन् । मन्दिर जिर्णाेद्धारको काम भइरहेकोले मन्दिरको छेउमा अर्काे मन्दिर स्थापना गरी पुजाआजा गर्ने ब्यवस्था मिलाइको छ ।

मनकामना मन्दिरमा अहिले दैनिक केबलकार चढेर मात्रै पाँच हजार भक्तजनहरु आउने गरेको मनकामना केबरकारको तथ्याङ्क छ । त्यस्तै सडक मार्ग र पैदल मार्ग भएर पनि मनकामना मन्दिर दर्शन गर्न भक्तजनहरु आउने गर्छन ।