स्लोभानियाले खोल्यो नेपालमा अवैतनिक दूतावास

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
मध्य यूरोपेली मुलुक स्लोभानियाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको २२ वर्षपछि नेपालमा अवैतनिक दूतावास स्थापना गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दूतावासको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले दुवै हिमालय र पर्वतीय मुलुक बीचको सम्बन्ध आगामी दिनमा अझ निकट हुने विश्वास व्यक्त गर्दै द्धिपक्षीय व्यापार, लगानी र पर्यटकीय गतिविधि बढने विचार व्यक्त गर्नुभयो । जलस्रोतमा सम्पन्न नेपाल–स्लोभानिया बीचको सम्बन्ध अवैतनिक दूतावास स्थापनासँगै झनै फराकिलो बन्ने उहाँको भनाइ छ ।

सो अवसरमा बोल्दै स्लोभानियाका गैरआवासीय राजदूत जोडेफ ड्रोफिनिकले नेपालसँग दौत्य सम्बन्ध स्थापना हुनुभन्दा धेरै अघिदेखि नै आफ्नो मुलुक नेपालका हिमशृङ्खलाकासँग निकट भएको स्मरण गर्नुभयो । नेपालको पर्यटन र आर्थिक क्षेत्रमा दुवै मुलुकबीच सहकार्य र साझेदारी हुन सक्ने उहाँले बताउनुभयो। नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्मा सो मुलुकको अवैतनिक दूत नियुक्त हुनुभएको छ ।

अवैतनिक दूतावास स्थापना भएसँगै सो मुलुकसँगको भिसा प्रकृया सरल बन्ने अपेक्षा गरिएको छ । नेपालले यस्तो सेवा भारतको दिल्लीस्थित सो मुलुकको आवासीय दूतावासमार्फत् लिँदै आएको छ ।

नवनियुक्त दूत शर्माका अनुसार अवैतनिक दूतावास कार्यालय बँँसबारीमा रहने छ । अटो मोबाइल, सुरुङमार्ग, पुल, रेलवे जस्ता पूर्वाधारमा पृथक र सफल पहिचान बनाएको स्लोभानियाबाट नेपालले धेरै प्रकारका सफल उदाहरण भिœयाउन सक्ने उहाँले बताउनुभयो । सो मुलुकका लगानी भिœयाउन सरकार र निजी क्षेत्रको संयुक्त पहल र हातेमालो अपरिहार्य हुने शर्माको भनाइ छ ।