डीएसपी प्रजित केसी पक्राउ एसएसपी खत्री फरार

0
Shares

नेपाल समाचारपत्र
विराटनगर
साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालीन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन्।

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएको थियो। शुक्रबार उनी मोरङ पुगेका थिए। आइतबार बयानपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार उनको बयान चित्त बुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो।

यसअघि गत फागुन १८मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगरको पोखरियामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो। उनीहरूले साढे ३३ केजी सुनका मालिक भनिएका चूडामणि उप्रेतीलाई खोज्दै धरान र विराटनगरसम्म पुगेको बताउँदै आएका छन्।

टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी नियन्त्रणमै छन्। उनीहरूलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन्।

एसएसपी खत्री फरार
उक्त सुन काण्डको अनुसन्धान गरिरहेको समितिले प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई बयानका लागि बोलाएको थियो। यस अघि नै सुन काण्डमा परेर निलम्वन र पछि सफाइ पाएका खत्री समितिले बोलाएपछि सम्पर्कविहीन भएका छन। एसएसपी खत्री फरार भएपछि समितिले उनलाई पक्राउ गर्न प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिएको छ। समितिले उनलाई पनि कर्तव्य ज्यानमुद्दामा कारबाही अगाडि बढाउने भएको छ।