तीन सातादेखि ठप्प मेलम्चीको काम शुरू

0
Shares

सुरेश तामाङ, काठमाडौं
करिब तीन सातादेखि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम शुरू भएको छ। रकम अभाव देखाउँदै काम ठप्प पारेको इटालियन ठेकेदार कम्पनीले गएको शुक्रबारदेखि काम शुरू गरेको हो।

रकम अभाव भएको कारण देखाउँदै करिब तीन सातासम्म काम ठप्प पारेको ठेकेदार कम्पनीमाथि चौतर्फी दबाब बढेपछि बाध्य भएर काम शुरू गरेको आयोजनाका एक उच्च अधिकारीले बताए।

२६ किलोमिटर सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि ठेकेदार कम्पनीले रकम अभाव देखाउँदै आयोजनाको सम्पूर्ण काम ठप्प पारेको थियो।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले ठेकेदार कम्पनीले अहिले काम शुरू गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सुरुङ फिनिसिङको काम शुरू भएको छ। निर्माण कम्पनीले निर्माण सामग्रीको पनि जोहो गरिरहेको छ।’ अहिले सुरुङको पानी बग्ने तल्लो भागमा ढलान गर्न जमेको पानी बाहिर निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो।

२६ किमि सुुुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। १८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरीजल–सिन्धु खण्डमा २ किलोमिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन। फिनिसिङमा सुरुङको पानी बग्ने तल्लो भागमा ढलान, दायाँबायाँ र माथिल्लो भागमा प्लास्टर पर्दछ।

त्यस्तै ड्यामको काम पूरै गर्न बाँकी रहेको छ। अहिलेसम्म ३५ प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ। दशैं अगावै पानी खुवाउन कार्यतालिका बनाएर काममा खटिए समयमै काम सम्पन्न हुने आयोजनाका उच्च अधिकारीहरू बताउँछन्। तर ठेकेदार कम्पनीले अहिलेसम्म कार्यतालिका बनाएर पेस गरेको छैन।

सोमबारदेखि नतिजामूलक काम गर्ने प्रतिबद्धता ठेकेदार पक्षबाट आएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो। ‘यो यो दिनमा यो यो काम गरी तोकिएको दिनमा काम सम्पन्न गर्न कार्यतालिका नभई हुँदैन’, उहाँले भन्नुभयो– ‘कार्यतालिका हामीले ठेकेदार कम्पनीलाई बनाएर पेस गर्नु भनेका छौं। तयार भइरहेको जानकारी आएको छ।’

आयोजनाको सुरुङको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसी रिभेनाले समयसमयमा विभिन्न वहाना बनाएर काम रोक्ने शैलीलाई सरकारले गम्भीररूपमा नलिए दशैंसम्म मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा आउने सम्भावना न्यून रहेको छ।