सडक त बन्यो पार गर्न मुस्किल

0
Shares

सुरेश तामाङ, काठमाडौं
ललितपुर लामाटारका सञ्जय लामा दैनिक कामका लागि काठमाडौं पुग्ने गरेका छन्। दैनिकजसो उनी आफ्नो मोटरसाइकल चढेर गन्तव्यमा पुग्ने गरेका छन्। उनी लामाटार हुँदै लुभु–इमाडोल–ग्वार्काे चोक भएर काठमाडौं आइपुग्ने गर्दछन्। तर ग्वार्काे चोकमा आइपुग्दा भने उनको सातो जाने गर्छ।

उनले भने– ‘अफिस जान म सधैं आफ्नो मोटरसाइकल प्रयोग गर्छु। रिङरोडको ग्वार्काे चोकमा आइपुग्दा सातो उठ्छ।’ पहिलाभन्दा फराकिला रोड बनेपछि ठूल्ठूला सवारी तीव्र गतिमा हुइँकिने भएर उनलाई सधैंजसो डर लाग्ने गर्छ।
पहिला साँघुरो सडक हुँदा सवारी पनि ठिक्क गतिमा गुड्ने उनले सुनाए। बाटो फराकिलो भएपछि तीव्रगतिमा सवारी हुइँकिने गरेको उनले बताए। उनले भने– ‘हावाले पनि उडाइदिने गरी सवारी हाँक्छन्। आफू संयमित भएन भने अचार बनाउन बेर छैन।’

संखुवासभाकी मनिका न्यौपाने ललितपुरको भैंसेपाटी बस्छिन्। उनी जावलाखेलको एक स्कुलमा पढाउँछिन्। उनी एकान्तकुनामा भेटिँदा अलमलमा परेको देखिन्थिन्। एकान्तकुनामा उनलाई बाटो काट्न हम्मे हम्मे परिरहेको थियो।
उनी सडकतिर अघि बढ्न खोज्छिन्, दायाँ बायाँ हेर्छिन्, तर बाटो काट्न भने सक्दिनन्। फेरि उनी पटकपटक यस्तै गरी बाटो काट्न खोज्छिन्, उनलाई मुस्किल पर्छ। यो क्रम ७÷८ मिनेटसम्म चल्यो।
उनले भनिन्– ‘यहाँ जहिल्यै यस्तै हो। जहिल्यै १० मिनेट बाटो काट्नमै समय छुट्याउनुपर्छ।’ फराकिलो बाटो बनेपछि सवारी तीव्र गतिमा गुड्ने गरेका कारण बाटो काट्न अप्ठ्यारो भएको हो।
‘यत्रो ठूलो बाटो बन्यो अहिलेसम्म न ट्राफिक लाइट राख्ने काम भएको छ न त जेब्राक्रस लाइन नै बनाउन खोजिएको छ।’

उनले भनिन्– ‘जेब्रा क्रसिङ लाईन नहुँदा पनि हामीलाई बाटो काट्नमा अप्ठेरो भएको छ। जेब्रा क्रसिङबाट बाटो काट्न पाउनु हाम्रो अधिकार हो।’
कोटेश्वरदेखि कलंकी सडकखण्डहुँदै यात्रा गर्ने यात्रु सबैको व्यथा सञ्जय र मनिकाको भन्दा फरक छैन। कोटेश्वरदेखि बल्खुसम्म फराकिलो पारिएको सडकमा न यात्रुलाई पैदल यात्रा गरी बाटो काट्न न जेब्रा क्रसिङ नै छ न त ट्राफिक बत्ती नै।

आकाशे पुल पनि पुग्दो छैन। कोटेश्वरदेखि कलंकीसम्म साढे १० किलोमिटर सडकमा कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी ३ वटा मात्रै आकाशे पुल निर्माण गरिएको छ। सडकको पूरै संरचना तयार भइसक्दा सडकमा आधारभूतरूपमा हुनुपर्ने ट्राफिक संकेत नहुनुले यात्रुदेखि चालकसम्म अलमलमा परेको पष्टै देखिन्छ। सडकछेउमा निर्माण सामग्री थुपारिएको छ। पैदलयात्री हिँड्ने फुटपाथ छैन।
काठमाडौं चक्रपथ सडक योजनाका इन्जिनियर निरन्जन शर्माले सडक पूरै बनाइ नसकिएकाले गर्दा यात्रुको सहजताका लागि ट्राफिक संकेत नराखिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सडक बन्दै छ। सडक निर्माणाधीन भएकाले गर्दा हामीले ट्राफिक संकेत नराखेका हौं।’

उहाँका अनुसार कोटेश्वरदेखि बल्खुसम्म हालको सडकमाथि अर्काे ४ सेन्टिमिटर बाग्लो कालोपत्रे गर्नुपर्ने हुन्छ। यसपछि मात्रै सडकमा ट्राफिक संकेत राख्ने योजना रहेको उहाँले बताउनुभयो। बल्खु एकान्तकुना, महालक्ष्मीस्थान, चापागाउँदोबाटो, सातदोबाटो, ग्वार्काे र कोटेश्वरमा गरी ७ स्थानमा मात्रै जेब्रा क्रसिङ र ट्राफिक बत्ती राख्ने योजनाको डिजाइनमा छ। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो सडक विगत ५ वर्षदेखि निर्माणाधीन अवस्थामा छ।