देउराली बंगला अझै आएन ट्रस्टको नाममा अटेरी गर्नेविरुद्ध प्रहरीमा पत्राचार

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
काठमाडौंको कमलादीमा रहेको तीनतले देउराली बंगला अहिलेसम्म ट्रस्टको नाममा आउन सकेको छैन। जबकि उक्त बंगला नेपाल ट्रस्टको कार्यालयसँगै जोडिएको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारले दरबारमा कार्यरत काठमाडौं महानगरपालिका–१६ ठमेलका सरदार शारदाप्रसाद प्रधानलाई निःशुल्क उपलब्ध गराएको थियो। काठमाडौं महानगरपालिका–३१ स्थित कित्ता नम्बर ३६४ मा ३ रोपनी १४ आना ३ पैसा क्षेत्रफलमा रहेको सो बंगला र त्यसले चर्चेको कम्पाउन्डमा प्रधान बस्दै आउनुभएको छ।
राजा वीरेन्द्रको परिवारको सामूहिक हत्यापछि उहाँको परिवारको नाममा रहेको चलअचल सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउन २०६४ सालमा नेपाल ट्रस्टको कार्यालय स्थापना भएको थियो। ट्रस्टले अहिलेसम्म राजपरिवारको नाममा रहेको २ हजार २ सय रोपनी सम्पत्ति आफ्नो नाममा ल्याएको छ।

ट्रस्टको कार्यालय र प्रधानको घरसँग जोडिएको २ रोपनी ४ आना जग्गा केयूकेएललाई भाडामा दिइएको छ। नेपाल ट्रस्ट ऐन, २०६४ तथा नेपाल राष्ट्र नियमावली, २०६५ मा राजा वीरेन्द्र शाहको परिवारको नाममा रहेको, कुनै किसिमले प्राप्त भएको वा हुनसक्ने वा निजहरूको हक पुगेको वा पुग्नसक्ने अरू कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति स्वतः ट्रस्टको नाममा आउने व्यवस्था गरिएको छ।
नेपाल ट्रस्टका कार्र्यकारी सचिव डा. रमेशप्रसाद सिंहले ट्रस्ट ऐन २०६४ बमोजिम राजा वीरेन्द्र शाहको परिवारको नाममा रहेको चलअचल सम्पत्ति ट्रस्टको नाममा ल्याउन तीव्रता दिइएको बताउँदै भन्नुभयो– ‘ट्रस्टको सम्पत्ति व्यक्तिहरूले उपयोग गरिरहेका छन्, ती घरजग्गा खाली गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’ ट्रस्ट सञ्चालक समितिको बैठक छिट्टै बसी प्रक्रिया पुर्याएर घरजग्गा फिर्ता ल्याउने कार्य अगाडि बढाइने उहाँले बताउनुभयो।

ट्रस्टको सम्पत्तिको अधिकतम सदुपयोग गरी प्राप्त हुने आय दुर्गम क्षेत्रका विपन्न गरिब छात्रछात्राहरूको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइने बताइएको छ।

यसैबीच आफ्नो नाममा रहेको घरजग्गा फिर्ता ल्याउन ट्रस्टले महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको छ। काठमाडौं महानपालिका–१३ छाउनी मार्ग छाउनीको नक्सा नम्बर १०२–११०३–१३ कित्ता नम्बर १११ क्षेत्रफल २–१३–१–१– (१४४० वर्ग मिटर)मा रहेको घरजग्गामा जुनी थापा बस्दै आएका छन्। दुईपटक ३० र ३५ दिने सूचना जारी गर्दा पनि घरजग्गा खाली नगरेकाले प्रहरीकहाँ पत्राचार गर्नुपरेको जनाइएको छ।

त्यसअघि पनि सात दिनभित्र खाली गर्न पत्राचार गरिएको थियो। त्यसरी आह्वान गर्दा पनि बेवास्ता गरेकाले शुक्रबार पत्राचार गरिएको हो।