कोरियाली युद्ध अन्त्य हुने

0
Shares

सोल, (एजेन्सी)
उत्तर र दक्षिण कोरियाबीच शुक्रबार युद्ध अन्त्य गर्ने सहमति भएको छ।
उत्तर र दक्षिण कोरियाका नेता किम जोङ उन र मुन जाय इनबीच शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा भएको ऐतिहासिक शिखर वार्तापछि कोरियाली प्रायद्वीपलाई पूर्णतः निःशस्त्रीकरण गर्ने विषयमा सहमति भएको हो। एक दशकभन्दा लामो समयपछि भएको यो वार्ता निकै हार्दिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अत्यन्तै कडा सुरक्षा प्रबन्ध मिलाइएको सीमा क्षेत्रको पान्मुन्जोममा भएको यस वार्ताको दौरान दुवै कोरियाले यसै वर्ष ५० दशकको कोरियाली युद्ध औपचारिकरूपमा समाप्त भएको घोषणा गरी स्थायी तथा ठोस शान्ति स्थापनाका लागि सहमति खोज्न संयुक्त राज्य अमेरिका र चीनसँग सहकार्य गरिने घोषणा गरेका छन्।
–       राम्रा कुराहरू भइरहेका छन् तर समयले बताउनेछ ः ट्रम्प
– सकारात्मक परिणामका लागि संवाद जारी राख्नेछौंं ः किम
– सक्रिय भूमिका निभाइरहन इच्छुक छौं ः चीन
यस वार्ताको पान्मुन्जोम घोषणापत्रमा चरणबद्धरूपमा हातहतियार कटौती गर्ने, शत्रुतापूर्ण गतिविधि रोक्ने सीमा क्षेत्रलाई शान्ति क्षेत्रमा रूपान्तरण गर्ने तथा अमेरिकालगायत अन्य राष्ट्रसँग बहुपक्षीय वार्ताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सो घोषणापत्रमा दुवै पक्षले भनेका छन्– ‘दुई नेताले हाम्रा आठ करोड जनता र सम्पूर्ण विश्वसमक्ष कोरियाली प्रायद्वीपमा अब कुनै युद्ध नहुने र नयाँ शान्तिको युगको शुरुआत भएको घोषणा गरेका छन्।’
यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यसै वर्ष उत्तर कोरियाली राजधानी प्योङयाङको भ्रमण गर्ने सहमति जनाएका छन्। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियाली भूमिमा टेकेर आफ्ना समकक्षीसँग हात मिलाउने किम पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका छन्।
मुन र किमले हाँस्दै ख्याल ठट्टा गर्दै सँगै हिँडेको दृश्यले गत वर्ष उत्तर कोरियाले निकै शक्तिशाली आणविक र क्षेप्यास्त्र परीक्षण गरी झन्डै तेस्रो विश्व युद्धको सन्त्रासको वातावरण सृजना गरेको सम्झना चटक्कै बिर्साइदिएको थियो।
आणविक र क्षेप्यास्त्र परीक्षणका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाएको थियो। किमले केही सातापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने कार्यक्रम रहेको छ।