काठमाडाैं । क्यूबाको संसदले मिगेल डियाज कनेललाई देशका नयाँ नेताको रुपमा चुनेको छ । उनी ८६ वर्षीय राष्ट्रपति राउल क्यास्त्रोको स्थानमा चुनिएका हुन् ।
क्यास्त्रो परिवार दशकौंदेखि क्यूबाको सत्तामा रहँदै आएको छ । राउल क्यास्त्रोले सन् २००६ मा आफ्ना बिरामी दाजु फिडेल क्यास्त्रोबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
क्यूबाको नेशनल एसेम्बली उनको नाममा मतदान गर्नेछ तर डियाज राष्ट्रपति बन्ने पक्कापक्की भइसकेको बताइएको छ । राउल क्यास्त्रो पद छोडेपछि पनि साम्यवादी क्यूबाको राजनीतिमा प्रभावशाली व्यक्ति बनिरहनेछन् ।
उनी सन् २०२१ मा कम्युनिष्ट पार्टीको राष्ट्रिय अधिवेशन हुनेबेला सम्म पार्टीको अध्यक्ष रहनेछन् । यद्यपी, बिहिबार नेशनल एसेम्बलीमा मतदान भएपछि उनी राष्ट्रपति पदको भार औपचारिक रुपमा डियाजलाई सुम्पनेछन् ।
बीबीसीका क्यूबा संवाददाता विल ग्रान्टका अनुसार क्यूबाका नयाँ नेता सामू देशमा कयौं चुनौती हुनेछन् । क्यूबाको अर्थव्यवस्था रोकिएको छ र युवा जमात परिवर्तन चाहन्छ ।
फिडेल क्यास्त्रो र उनका भाइ राउल क्यास्त्रोको क्रान्तिकारी इतिहास छ तर डियाजको इतिहास त्यस्तो छैन । यसले पनि उनको नेतृत्वमा समस्या निम्त्याउनेछ ।
को हुन् डियाज कनेल ?
डियाज कनेललाई जब सन् २०१३ मा क्यूबामा उपराष्ट्रपति बनाइएको थियो तब यो कुनै चर्चित नाम थिएन । तर त्यसपछि उनी क्यास्त्रोका दाहिने हात बनेका थिए ।
उनलाई पछिल्लो पाँच वर्षदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नका लागि तयार गरिँदै थियो । देशका पहिलो उपराष्ट्रपति बन्नु अघि नै ५७ वर्षीय डियाजसँग लामो राजनीतिक अनुभव थियो ।
उनको जन्म सन् १९६० को अप्रिलमा भएको थियो । उनी जन्मेको एक वर्ष अघि मात्र युवा फिडेल क्यास्त्रो देशका प्रधानमन्त्री बनेका थिए ।
उनले इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् र युवावस्थादेखि नै योंग कम्युनिष्ट लीगसँग जोडिएका छन् । उनले सान्टा क्लारामा युवावस्थादेखि नै आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए ।
एक स्थानीय युनिभर्सिटीमा इन्जिनियरिङ गर्दागर्दै उनी योंग कम्युनिष्ट लीगको सिँढी चढिरहे र ३३ वर्षको उमेरमा नै उनी लीगका दोस्रो सचिव छानिए । राउल क्यास्त्रो उनको वैचारिक क्षमताको तारिफ गर्दछन् । एजेन्सी
प्रतिक्रिया