कोटेश्वरमा जामको सास्ती कहिले बन्छ सुरुङ मार्ग ?

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
जडिबुटी–कोटेश्वर हुँदै आवतजावत गर्ने यात्रु दैनिक आधा घण्टादेखि डेढ घण्टासम्म ट्राफिक जाममा पर्छन्। तीनकुने–सूर्यविनायक सडक ६ लेनको भए पनि सवारीसाधनको चापका कारण दैनिकरूपमा कोटेश्वरमा पनि घण्टौं जाम हुने गरेको छ।

कोटेश्वरको जाम छिचोल्ने यात्रु पैदल यात्रा गर्नसमेत बाध्य भएका छन्। मुग्लिन–नारायणगढ सडकखण्ड निर्माण भइरहेका कारण पूर्वबाट नागढुंगा हुँदै राजधानी भित्रिने यातायात बीपी राजमार्ग हुँदै काटेश्वरबाट काठमाडौं भित्रिने गरेका छन्।

कोटेश्वर–जडिबुटी सडक खण्डमा सर्भिस ट्र्याक नहुँदा ट्राफिक जाम हुने गरेको छ। बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै दैनिकरूपमा सात हजारभन्दा बढी सवारीसाधन कोटेश्वर हुँदै आवतजावत गर्ने गरेका महानगरीय ट्राफिक महाशाखाले बताएको छ। सडक साँघुरो हुँदा दैनिकरूपमा यात्रुले सास्ती बेर्होदै आएका छन्। पेप्सीकोलाबाट बागबजार हिँड्नुभएकी राधा पौडेल दैनिक जाम हुन थालेपछि जडिबुटीबाट काटेश्वरसम्म हिँडेर गाडी चढ्ने गरेको बताउनुहुन्छ।

‘दैनिक ट्राफिक जाम हुन्छ, समयमा नै कार्यालय नपुगे गाली खानुपर्छ, पेप्सीकोलाबाट जडिबुटीसम्म गाडीमा आउँछु, त्यसपछि हिँड्दै कोटेश्वर चोकमा आएर अर्को गाडी चढेर कार्यालय जान्छु।’ सर्वसाधारण यात्रु मात्र होइनन्, कोटेश्वर–जडिबुटी सडकमा एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। ट्राफिक प्रहरीले जामलाई न्यूनीकरण गर्न कोसिस गरे पनि अत्यधिक सवारी साधनको कारण व्यवस्थापन गर्न सकिरहेको छैन।

काठमाडौं भित्रिने मुख्य नाका कलंकीमा अन्डरपास निर्माण भए पनि कोटेश्वर चोकमा आकाशे पुल र अन्डरपास निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन। सरकारले यस आर्थिक वर्षभित्र तीनकुनेबाट जडिबुटी आसपासको क्षेत्रसँग जोड्न सुरुङ मार्ग गर्ने विषयलाई नीति तथा कार्यक्रममा नै सहभागी गरायो तर अझै प्रक्रिया अगाडि बढ्न सकेको छैन।

कोटेश्वर–जडिबुटी सडकको दायाँबायाँ नै नागरिक उड्डयन प्राधिकरणको जग्गा पर्छ। सरकारले अहिले तीनकुनेको मुनि भैरवथानबाट जडिबुटी हुँदै मनहरा खोलापारि जोड्ने सुरुङ मार्ग निर्माणका लागि अध्ययन कार्य अगाडि बढाएको छ।

सडक विभाग वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले तीनकुनेदेखि जडिबुटीसम्म अन्डरपास निर्माणका लागि अध्ययन कार्य भइरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अन्डरपास बनाउन अध्ययन भइरहेको छ, विमानस्थल मुनिबाट अन्डरपास बनाउने गरी अध्ययन भइरहेको छ केही समयभित्र नै डीपीआर तयार हुन्छ।’ उहाँका अनुसार अन्डरपास निर्माणका लागि जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्तेनले तीनकुने–जडिबुटी सुरुङ मार्गको काम तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कोटेश्वरमा अत्यधिक जाम हुने गरेको छ, सडकको दायाँबायाँ सर्भिस ट्र्याक नहुँदा समस्या छ, तत्काल सर्भिस ट्र्याक सञ्चालन गर्नुपर्छ।’

उहाँले कोटेश्वरको भैरवमन्दिरदेखि विमानस्थलमुनि हुँदै पेप्सीकोलासम्म वैकल्पिक सुरुङ मार्ग बनाउनुको कुनै विकल्प नभएको बताउनुभयो। राजधानीबाट भक्तपुर हुँदै पूर्वी जिल्लामा जाने यातायातको व्यवस्थापन गर्ने वैकल्पिक मार्ग बनाउदा सुरुङ मार्ग आधुनिक र भरपर्दाे विकल्प भएको उहाँले बताउनुभयो।

सरकारले तत्काल सर्भिस ट्र्याक सञ्चालनमा ल्याउने हो भने पनि कोटेश्वरको बढ्दो ट्राफिक जाम न्यूनीकरण हुनेछ। कोटेश्वरमा बढ्दो ट्राफिक जामको कारण पैदल यात्रीलाई समेत सडक क्रस गर्न कठिनाइ हुने गरेको छ।