१५० फिटको छुद्र ग्रह पृथ्वी नजिकबाट गयो

0
Shares

एरिजोना, (एजेन्सी)
खगोलशास्त्रीहरूले आइतबार बिहान कम्तीमा १ सय ५० व्यासको एउटा छुद्र ग्रह पृथ्वीबाट अत्यन्त नजिक दूरी भएर गएको बताएका छन्। उक्त छुद्र ग्रह पृथ्वीनजिक भएर जानु केही घण्टाअगाडि मात्रै खगोलशास्त्रीहरूको आँखामा परेको थियो।
एस्टेरोइड २०१८ जीई–३ नामक उक्त छुद्र ग्रह अप्रिल १५ को बिहान सबैभन्दा नजिकिएको र यो पृथीबाट १ लाख १९ हजार ५ सय माइल दूरीमा रहेको अर्थ स्काई डट ओआरजीले जनाएको छ। यो दूरी भनेको चन्द्रमाभन्दा कम हो जुन पृथ्वीबाट औषत २ लाख ३८ हजार ९ सय माइल रहेको छ। सूर्यतर्फको यात्राका क्रममा जीई–३ चन्द्रमाको पनि अन्त्यन्त नजिकबाट गएको थियो।

एस्टेरोइड २०१८ जीइ–३ सन् २०१३ मा मध्यरुसमा विस्फोट भएको चेलियाबिन्स्क छुद्र ग्रहभन्दा ६ गुणा ठूलो हुन सक्ने अर्थ स्काई डट ओआरजीले जनाएको छ। उक्त चट्टान वायुमण्डलमा ठोक्किँदा चहकिलो प्रकाश निस्केको थियो र चेलियाबिन्स्क क्षेत्रमा त्यसको हजारौं टुक्रा खसेको थियो। यसले त्यस क्षेत्रका भवनको झ्यालहरू फुटालेको र करिब १ हजार ५ सय जना घाइते बनाएको थियो। यदि जीई–३ पृथ्वीमा प्रवेश गरेको भए ठूलो क्षति नपुर्याए पनि त्यस्तै खालको घटना निम्त्याउन सक्थ्यो।

उक्त छुद्र ग्रहलाई नासाको लगानी रहेको एरिजोनास्थित क्याटालिना स्काई सर्भे परियोजनाले सबैभन्दा पहिला निरीक्षण गरेको थियो।