मातातीर्थ औंशीमा गाउँपालिकाले गर्यो आमाहरूलाई सम्मान

0
Shares

सरिता चलाउने, सल्यान

जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिगत निर्णयअनुसार सल्यानको कपुरकोट गाउँपालिकाले सोमबार गाउँपालिकाभरिका आमालाई सम्मान गरेको छ। ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिक आमाहरूलाई सोमबार आमाको मुख हेर्ने दिनको अवसर पारेर प्रत्येक वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

समाज रुपान्तरणका लागि जेष्ठ नागरिकहरूले गरेको संघर्षको सम्मान र उनीहरूको अधिकारमा पहुँच पु¥याउने उद्देश्यले सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज खत्रीले जानकारी दिए। गाउँपालिकाले बुवाको मुख हेर्ने दिनमा पुरुष जेष्ठ नागरिकलाई यसअघि सम्मान गरिसकेको छ। कपुरकोट–३ मा आयोजना गरिएको सम्मान कार्यक्रममा आएकी जेष्ठ नागरिक गोरीकुमारी कँुवरले गाउँपालिकाले आफूहरूजस्ता पुराना मान्छेलाई सम्मान गरेकोमा खुसी हुँदै सारा जीवनकाल आफ्ना सन्ततिका लागि खर्च गरेका आमाबाबुलाई सबै छोराछोरीले माया गर्नुपर्ने बताइन्।

उनले भनिन्– ‘हामीले अझै राज्य तथा विभिन्न कार्यालय, क्षेत्रबाट पाइने सेवा सुविधाहरू सहजरूपले पाउन सकिरहेका छैनौं। हामीलाई पनि अधिकार दिलाइदिन गाउँपालिकाले भूमिका खेलिदिओस्।’ कार्यक्रममा जेष्ठ नागरिक आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले आजभोलि विभिन्न कारणले आमाबुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायतका ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको भन्दै जेष्ठ नागरिक समाजको जरा रहेकाले जेष्ठ नागरिकप्रति सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताए।

जेष्ठ नागरिकको रेखदेख र सहयोगका लागि गाउँपालिका तयार रहेको भन्दै जेष्ठ नागरिक नै समाजको मूल अंग रहेको र विकासको कार्यमा विभिन्न ज्ञानसमेत लिन सकिने सेनले बताए। कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर सेनले बुढापाकाहरू सधैं जीवनका अनुभव नयाँ पुस्तालाई बाँड्न तयार हुने भएकाले अहिलेका पुस्ताले ती अनुभवलाई लिन सक्नुपर्ने बताएका थिए। कार्यक्रममा शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसूदन गिरीले जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्य अत्यन्तै राम्रो रहेको बताउँदै यससम्बन्धी अझ विशेष कार्यक्रम राज्यले ल्याउनुपर्ने धारणा राखेका थिए।

यसैबीच आमाको मुख हेर्ने पर्वसँग जोडेर सोमबार सुरक्षित मातृत्त्व दिवस पनि मनाइएको छ। वडा कार्यालयसँग मिलेर स्वास्थ्य चौकी कपुरकोट सल्यानले महिलाको गर्भावस्था, सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने उद्देश्यले दिवस मनाएको हो।

कार्यक्रममा कपुरकोट स्वास्थ्य शाखाका प्रमुख अरूण दाहालले गाउँ–गाउँमा जनचेतना जगाई गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा आमा र शिशुमा हुने खतरालाई बेलैमा पहिचान गरी व्यवस्थापन गर्ने, व्यवस्थापन हुन नसक्ने अवस्था पत्ता लगाई उचित ठाउँमा पठाउने र आमा र बच्चाको ज्यान जोगाउनेजस्ता सन्देश र सेवाका बारेमा समुदायसम्म सूचना पुर्याउने आफूहरूको लक्ष्य रहेको बताएका थिए। कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी कपुरकोटका प्रमुख देवेन्द्रकुमार सेनले गरेका थिए।