विनोद सिंह विष्ट, बैतडी । सुदूरपश्चिम अर्थात प्रदेश सातका पहाडी जिल्लामा नयाँ बर्षलाई बिसु पर्वको रुपमा मनाउने चलन अनुसार आज गाउँघरमा रौनक छाएको छ ।
रोजगारीको सिलसिलामा घर बाहिर रहेकाहरु पनि बिसुका लागि घर पुग्दा गाउँघरमा रौनक छाएको स्थानीयबासिन्दाहरुले बताएका छन् । बिसु पर्वलाई गौरा र दशैं जत्तिकै महत्व दिने गरिएको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो । बिसु पर्व नयाँ बर्षको शुरुवात भएकाले यो दिन मिठोमसिनो खाने चलन रही आएको छ । बिसुको दिन बैतडीका विभिन्न स्थानमा रहेका देवीदेवताका मन्दिरहरुमा पूजाआजा गर्ने चलन समेत रही आएको छ
रोजगारीको लागि भारत गएका ७ नम्बर प्रदेशका पहाडी जिल्लाका स्थानीय नयाँ वर्षसँगै घर फर्कने क्रम बढेको छ । सीमानाका झुलाघाटबाट नेपाल फर्कनेको घुइचो लागेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।
बिसुपर्व किन मनाईन्छ ?
हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । बिसुका दिन मिठो मसिनो खाने आफन्त इष्टमित्रसँग भेटघाट, रमाइलो गर्ने सिस्नो लगाउने चलन पनि छ ।
सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ ।
बिसु पर्व विषेशः ७ नम्बर प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ । पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।
देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउँछन् । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा कायमै रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताउनुभयो ।











प्रतिक्रिया