शान्ति सुरक्षा कायम गर्ने प्रहरी नै असुरक्षित

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफै असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुँने गरेको छ । बैतडीमा अधिकांश प्रहरीचौकी जीर्ण भवनमा सञ्चालन भईरहँदा समस्या हुने गरेको हो ।

ग्रामीण क्षेत्रका अधिकांश प्रहरीचौकी भाडाको भवनमा सञ्चालनमा रहेका र ती जीर्ण अवस्थामा रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लामा रहेका २१ ओटा प्रहरीचौकी मध्ये १४ ओटा भाडाको भवनमा सञ्चालन भईरहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भाडाको भवन पनि जीर्ण हुँदा सेवा प्रवाह गर्न निकै समस्या हुने गरेको सतबाँझ प्रहरीचौकीका इन्चार्ज कर्ण बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ भवन जीर्ण हुँदा पाल टाँगेर सेवा दिनुपरीरहेको छ ।”

प्रहरीसंग आफ्नो भवन नहुँदा कसैलाई नियन्त्रणमा लिँदा आफूसंगै सुताउनुपर्ने बाध्यता रहेको कुलाउ प्रहरीचौकीका इन्चार्ज लक्ष्मणबहादुर महराले बताउनुभयो । कुनै ब्यक्तीलाई हिरासतमा राख्दा समेत आफैसंग राख्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो“दुर्गममा प्रहरी संख्या कम हुन्छ , त्यसैमा यस्तो गर्नुपर्दा असुरक्षित महसुस हुने गरेको छ ।”

सदरमुकाम नजिकैका बाराकोटा,थालिगडा, सतबाँझका प्रहरीचौकी भाडाको भवनमा छन् । ती पनि जीर्ण भवनमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै नागार्जुन, खोचलेक,गोकुलेश्वर, कुलाउ, शंकरपुर,रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरीचौकी भाडामा भवनमा बसेका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

कतिपय ठाउँमा प्रहरीचौकीको नाममा जमीन भएपनि भवन छैन भने धेरै ठाउँमा जमीन र भवन दुवै नभएको छ उहाँले भन्नुभयो “ भवनको अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको छ” प्रहरीचौकीका भवन निर्माणका लागि चालु आर्थिक बर्षमा कुनै योजना नरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

जिल्लाका केही ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी आधुनिक सुविधासम्पन्न रहेका भएपनि जिल्ला प्रहरी कार्यालयको ब्यारेक समेत जिर्ण अवस्थामा रहेको छ ।

आफ्नै भवन अभाव भए पछि भाडामा बसेका प्रहरीहरु दयनिय अवस्थामा चौकिबाट शान्ति सुरक्षाको काम हेर्न बाध्य छन् । सिङ्गो जिल्लाको सुरक्षाको जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयका भवनहरु समेत जिर्ण बन्दै गइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको ब्यारेक पनि बर्षायाममा पानी चुहिएर भित्ताहरु लड्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।
जिल्लाका प्रहरी चौकी भवनहरु दस बर्षे सशस्त्र द्वन्दका क्रममा तत्कालिन नेकपा माओबादीबाट ध्वस्त पारिएका थिए ।अहिले शान्ति तथा पुन निर्माण मन्त्रालयको सहयोगमा द्वन्दमा क्षती भएका भवनहरुलाई प्राथामिकता केही भवनहरु निर्माण भएका छन् ।

बैतडीमा रहेका धेरैजसो प्रहरी चौकीमा भवन अभावका साथै खानेपानी समेत नहँदा झनै समस्या हुने गरेको छ ।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयलेबैतडीमा यसअघि पाँच वटा प्रहरी भवन प्रहरी भवन आधुनिक सुविधासम्पन्न निर्माण गरेको छ । सिमा प्रहरी चौकी झुलाघाट , प्रहरी चौकी पुरघाट ,ईलाका प्रहरी कार्यालय पाटन, ईलाका प्रहरी कार्यालय मेलौली , प्रहरी चौकी खोडपे, ईलाका प्रहरी कार्यालय पाटन र ईलाका प्रहरी कार्यालय मेलौलीको भवन आधुनिक सुविधासम्पन्न रहेका छन ।

सशस्त्र द्वन्दका बेला बिद्रोही पक्षले बढी ध्वस्त गरेका प्रहरी भवनको नयाँ प्रहरी भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिर्ण प्रहरी भवनहरु पुर्ननिर्माण गर्न सके शान्ति सुरक्षा कायम गर्न पनि सहज हुने देखिएको छ ।