मेलम्ची सुरुङको अन्तिम ब्रेक थु्र दैनिक १७ करोड लिटर पानी आउने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ ब्रेक थु्र भएको छ । सिन्धु–ग्याल्थुम खण्डको साँढे सात किलोमिटर सुरुङ मंगलबार साँझ बे्रक थ्रु भएको हो । खानेपानीमन्त्री विना मगरले उक्त खण्डमा ब्रेक थ्रु भएको बताउँदै भन्नुभयो–‘म्याद राखेर निरन्तरको अनुगमन पछि अन्तमा सुरुङको ब्रेक थु्र भएको छ । काठमाडौं मेलम्चीको पानी आउन कि नआउला भन्ने उपशंका हटेको छ ।’आफू मन्त्री भएपछि २५ दिनभित्र सुरुङ ब्रेक थ्रु गर्न निर्देशन दिएलगत्तै निरन्तर अनुगमन गरेपछि यो काम सम्भव भएको उहाँको दावी थियो । ‘बैशाख १ गतेलाई टार्गेट बनाएर २५ दिनभित्र काम सक्न भनेको थिएँ । निरन्तर अनुगमन गरिरहेँ ।’ मन्त्री मगरले थप्नुभयो–‘अब दशैँमा पानी खाना पाइन्छ ।’

आयोजनाले असोज पहिलो साता राजधानीमा मेलम्चीको खानेपानी वितरण हुने जनाएको छ । आयोजनाका कार्यकारी प्रमुख रामचन्द्र देवकोटाले असोज पहिलो साता राजधानीबासीले मेलम्चीको पानी खाना पाउने दावी गर्नुभयो । उहाँका अनुसार अबको १ महिनासम्म सुरुङ मार्गबाटै पानी ल्याएर परिक्षण गरी त्यसको २ महिना(असोज) भित्र पानी खान पाउने गरी काम सक्ने कार्ययोजना बनाइएको छ ।

सिन्धु–ग्याल्थुम तेस्रो र अन्तिमपटकको ब्रेक थ्रु हो । यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर र सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।

यो तेस्रो ‘ब्रेक थ्रु’ को रुपमा रहेको मेलम्ची–सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको छ । अब दैनिक १७ करोड लिटर पानी राजधानीमा आउनेछ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीका अनुसार मेलम्चीको पानी प्रत्येक घरमा दैनिक ४ घण्टाका तवरले वितरित हुनेछ । आयोजनाले कुल अनुमानित रकम २७ अर्ब ७६ करोड मध्येको २४ अर्ब २२ करोड रुपियाँ खर्च भइसकेको जनाएको छ ।