“अभिभावकले सोच्ने बेला आएको छ”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
वैशाख पहिलो हप्तादेखि भर्ना अभियान शुरू भएको र सम्पूर्ण शिक्षक तथा अभिभावकलाई भर्ना अभियानमा सरिक हुन काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले आह्वान गर्नुभएको छ।

जुद्धोदय मावि क्षेत्रपाटीको ७९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। निकै तामझामसहित केक काटेर सोमबार विद्यालयकै प्रांगणमा विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको थियो। काठमाडौंको पुरानो स्कुल भएको स्मरण गर्दै सापकोटाले कुनै बेला विद्यार्थीको अत्यधिक चाप रहने विद्यालयमा हाल कम विद्यार्थी भए पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा प्रशंसा गर्नुभयो।

राम्रो विद्यालय मात्र नभई पुरानो पनि भएको, प्रशस्त भौतिक पूर्वाधारले सम्पन्न र योग्य तथा दक्ष शिक्षक भएकाले नै विद्यालयले स्थापनाको ७९औं जन्मोत्सव मनाएको उहाँको भनाइ थियो। ‘राज्यले सम्पूर्ण सुविधा दिएको छ तर पनि किन पढ्न चाहँदैनौं, पढाउँदैनौं अब अभिभावकले सोच्ने बेला आएको छ’ –उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक लक्ष्मण पौडेलले चारवटा शासन झेलेको विद्यालयले विभिन्न आरोहअवरोह पार गरेको बताउनुभयो। उहाँले सर्वसाधारणका छोराछोरीले पढ्ने विद्यालयमा पढेका विद्यार्थीले ६ वटा कलेज टप गरेको, विगतका एसएलसीमा ८ पटकसम्म टप गरेको स्मरण गर्नुभयो। साथै उहाँले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने जानकारी गराउनुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक प्रवीण न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा ‘ज्योतिर्मय जुद्धोदय’ नामक स्मारिका पनि विमोचन गरिएको थियो। विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण पनि गरिएको कार्यक्रममा सोही विद्यालयका भूपू शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो।

विद्यार्थीले विभिन्न किसिमका नाचगान प्रस्तुत गरेका थिए। साथै वाषर््िाक परीक्षामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।