‘गुरिल्ला’ हिँडेको बाटो खोज्दै विदेशीको लस्कर

0
Shares

नरेन्द्र केसी, दाङ
१० वर्षसम्म चलेको माओवादी युद्धमा लडाकू हिँडेको बाटो खोज्दै यतिबेला रोल्पा रुकुमका पहाडी गाउँहरूमा विदेशी पर्यटकको लस्कर देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले ३ वर्षअघि नै ‘गुरिल्ला ट्रेक’लाई नयाँ पर्यटकीय गन्तव्यमा राखेर रुट खुल्ला गरे पनि विस्तारै विदेशी पर्यटक आउने क्रम बढ्न थालेको छ।

माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा रुकुममा पर्यटन प्रवद्र्धन गर्न २ वटा रुट निर्धारण गरिए पनि रोल्पा र पूर्वी रुकुमको रुट केही छोटो भएकाले यसमा पर्यटकको आकर्षण बढेको छ। कतिपय पर्यटक जानकारी दिएर आउने र कतिपय पर्यटक जानकारी नदिएर आउने गरेकाले संख्या एकिन गर्न नसकिए पनि पछिल्लो समय गुरिल्ला ट्रेकमा आउने पर्यटकको संख्या बढेको पूर्वी रुकुमको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा ‘वीरता’ले जानकारी दिनुभयो।

रोल्पा र पूर्वी रुकुमको रुटमा आउने पर्यटकहरू रोल्पाको सुलीचौरसम्म गाडीमा आएर त्यसपछि ट्रेकिङमा हिँड्ने गरेका छन्। उनीहरू रोल्पाको सुलीचौर–जेलवाङ–थवाङ–जलजलाहुँदै पूर्वी रुकुमको भूमे गाउँपालिका पुग्ने गरेका छन्। भूमेको लुकुम–पुथाउत्तरगंगाको तकसेरा–ढोरपाटनहुँदै पर्यटक म्याग्दी झरेर गाडीबाट पोखरा वा काठमाडौं जाने गरेका छन्। ‘पर्यटकको मुख्य आकर्षण गुरिल्ला मार्ग नै देखिएको छ’, अध्यक्ष बुढाले भन्नुभयो– ‘सँगसँगै जलजला, ढोरपाटनकजस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्र पनि यही रुटमा पर्ने भएकाले यसमा विदेशी पर्यटकको संख्या बढिरहेको छ।’

यो रुटमा आउने पर्यटकले विशेष गरी युद्धका अवशेष र युद्धकालीन घटनामा चासो राख्ने गरेका छन्। त्यस्तै प्राकृतिक र सांस्कृति सम्पदामा पनि उनीहरूको चासो हुने हुने गरेको संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो। विदेशी पर्यटक आउँदा स्थानीयवासीले बाजागाजाले स्वागत गर्ने गरेका छन्। त्यसो त स्थानीय संस्कृतिमध्ये झाँक्री नाचमा पर्यटक बढी आकर्षित हुने गरेका छन्।

पश्चिम रुकुमको रुट ओझेलमा
एकैसाथ तय गरिएका गुरिल्ला मार्गमध्ये पूर्वी रुकुम र रोल्पा क्षेत्रको रुटमा पर्यटक आउन थाले पनि पश्चिम रुकुमको रुट भने ओझेलमा परेको छ। बेनीदेखि निसिलढोर, ढोरपाटन, लुकुम, खबाङबगर, तकसेरा, हुकाम, मैकोट, लालपाटन, छिपखोला र स्यार्पुलेक हुँदै मुसीकोट पुगेर टुंगिने रुटमा खासै पर्यटक नआएको संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका अध्यक्ष घर्तीले बताउनुभयो। पूर्वी रुटबाटै काँक्रीबाट रुकुमकोट हुँदै मुसीकोट जोड्ने मार्ग मिलाइएको भए पनि धेरै पर्यटक काँक्रीबाट तकसेरा हुँदै ढोरपाटन हुँदै फर्कने गरेका छन्।

अब पश्चिम रुकुमका युद्ध पर्यटकीयस्थललाई केन्द्रित गरेर नयाँ रुट बनाउनुपर्ने वा पहिलेको रुट सच्याउनुपर्ने आवश्यकता देखिएको अध्यक्ष घर्तीले बताउनुभयो।