दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्न माग

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
नेपाली पहिचानसँग जोडिएको भन्दै दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्न एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।

मेरो शान, मेरो पहिचान, राष्ट्रिय पासाक संरक्षण महाअभियान भन्ने मूल नाराका साथ राष्ट्रिय पोसाक संरक्षण महाअभियानअन्तर्गत ललितपुर जिल्ला समितिले आयोजना गरेको औपचारिक राष्ट्रिय पोसाक घोषणा आम नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो माग गरेका हुन्।

बिगुल न्युज मिडिया पार्टनर रहेको सो कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सांसद नवराज सिलवाल, पूर्वप्रधानसेनापति कटुवालको सहभागिता रहेको थियो। दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्नुपर्ने कार्यक्रममा माग गरिएको थियो।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवालले नेपालीको राष्ट्रिय पोसाकको इतिहास लामो भएकाले आफ्नो संस्कृति जोगाउनका लागि दौरा सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद नवराज सिलवालले कार्यक्रमा सम्बोधन गर्दै नेपालमै बनेको कपडाबाट मात्रै बनेको पोसाकलाई नै राष्ट्रिय पोसाक घोषणा गर्नुपर्ने बताउनुभयो। उहाँले ललितपुरमै सञ्चालनमा रहेका धागो उद्योगबाट वार्षिक १ लाख ६२ थान उत्पादन हुने भन्दै यसले नेपाली परम्परागत व्यवसायलाई पनि टेवा पुग्ने र युवालाई रोजगारीको अवसर प्राप्त हुने पनि बताउनुभयो।