एकिकृत गुरुयोजना बनाउँदै फलेवास नगरपालिका



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको फलेवास नगरपालीकाले भू उपयोग योजना सहित एकिकृत गुरुयोजना बनाउन थालेको छ । नगर क्षेत्रको समग बिकासका लागि भूउपयोग योजना सहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न एकिकृत गुरुयोजना बनाउन शुरु गरेको हो ।

त्रिभूवन विश्व विद्यालयसँगको सहकार्यमा गुरुयोजना निर्माणको काम शुरु भएको हो । गुरुयोजना निर्माणका लागि यसै सातादेखि फलेवास नगरपालिकाका ११ वटै वडामा तथ्याँक संकलनको काम भैरहेको छ । करिब १ सय जना कर्मचारी र भूर्गभ शास्त्रका बिद्यार्थीहरु परिचालन गरेर भूउपयोग, जल तथा प्राकृतिक स्रोत साधनको उपयोग, पुर्वाधारको अवस्था तथा लगायतका तथ्याँक संकलनको काम भैरहेको त्रिभुवन बिश्ववबिद्यालय भूर्गभ शास्त्र बिभागका प्रमुख डा. लालु पौडेलले जानकारी दिए । ‘अहिले तथ्याँक संकलनको काम भैरहेको छ’ प्रमुख डा. पौडेलले भने ‘यसपछि भूउपयोग योजना सहित अल्पकालिनm मध्यकालिन र दिर्घकालिन योजना बनाउने छौ’ ।

नगरपालिकाले बनाउन थालेको एकिकृत गुरुयोजनामा कुन भूभागमा कृषि, कुन भूभागमा उद्योग, पुर्वाधार, बस्ती बिकास लगायत बिकास गर्न सकिने संभावना र स्रोतहरुको पहिचान समेत गरिने प्रमुख डा. पौडेलले बताए । यसबाहेक फलेवास नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, कृषि, तथा जलस्रोत लगायत प्राकृतिक स्रोतहरुको पहिचान गरि नगरपालिका भित्रका सवै नागरिकहरुको जीवनस्तर उकास्ने उद्देश्य पुरा गर्न योजना निर्माण गरिने उनले बताए । आगामी ६ महिनाभित्र सवैजसो काम सकिने छ ।

नगरले चालु आर्थिक वर्षको बजेटमाका सवै वडासेवा केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने, बागलुङको दक्षिण क्षेत्रका नागरिकहरु र देविस्थान, शंकरपोखरी, कार्किनेटा हुँदै पोखरा जाने सहज यातायातको विस्तार गर्ने, ल्याण्ड फिल्ड साईट निर्माण, ल्याण्ड लिंक सिटीको रुपमा विकास गर्ने योजनालाई समेत प्राथमिकता दिएको थियो ।

गुणस्तरिय शिक्षामा सवै नागरिकको पहुँच अभिबृद्धि गर्ने र बन पर्यटन, उद्योग, जल विद्युत, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्धारा स्वरोजगार र रोजगार सिर्जना गरी युवाहरु लाई पलायन हुने बाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘नगरसभाले आगामी पाँच वर्ष भित्र नगरपालिकालाई समृद्ध बनाउनका लागि गुरुयोजना नै बनाएर अघि बढ्ने निर्णय गरे अनुरुप अहिले धमाधम काम भएको छ’ उनले भने ‘गुरुयोजना बनाएपछि नगरपालिकाको समग्र बिकासका लागि बजेट र कार्यक्रम तय गर्नेछौ’ । शर्माले पद बहाली गर्दा नगरको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका थिए ।

उनले जेठ सम्ममा सामान्य ड्राफ्ट निर्माण भैसक्ने र त्यसकै आधारमा आगामी आर्थिक वर्षको बजेट निति तथा योजना तर्जुमा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्