छोराको आशमा ७७ वर्षमा छोरी

0
Shares

पर्वत, (नेस)
उनको उमेर ७७ वर्ष भयो तर छोरो जन्माउने धोको अझै हटेन। छोराकै आशमा रहेका वृद्ध चक्रलाल छन्त्यालको छोराको बाबु बन्ने सपना यसपटक पनि पूरा भएन। छिमेकी जिल्ला बागलुङको दबाङखोला गाउँपालिकाका छन्त्यालकी श्रीमती वीरमतिले शुक्रबार गण्डकी मेडिकल कलेजमा छोरीलाई जन्म दिएकी छन्।

काजक्रिया गर्दा छोरो नै चाहिने सामाजिक मान्यताले गर्दा आफूले छोरो जन्माउन चाहेको भए पनि छोरी नै जन्मेको उनले बताए। ‘छोरो पाउने त भनेको हो छोरी भई, ठीकै छ भगवान्ले जे दियो उही जाति।’ छन्त्यालकी दोस्रो श्रीमती वीरमति ३९ वर्षकी छन्।

उनी बुर्तीवाङ र गण्डकी अस्पतालमा श्रीमती गर्भवती रहेका बेला परीक्षण गर्न गएका बेला डाक्टरलाई के छ भनेर सोधेका रहेछन्। ‘डाक्टरले जाँच्न मिल्छ तर भन्न मिल्दैन भने’, उनले भने– ‘पेटमा के छ भन्ने थाहा नै दिएनन् भन्न मिल्ने कानुन छैन भने।’ चक्रलालकी श्रीमती वीरमतिले फोनमा भनिन्– ‘उहाँले त छोरा पाउने भन्नुहुन्थ्यो, छोरी भयो। ठीकै छ म त खुसी छु। जे भए पनि आफैंले जन्माएको त हो।’
भूतपूर्व भारतीय सेना छन्त्यालको पहिलो श्रीमतीबाट एउटी छोरी छन्। छोरी पनि ५१ वर्ष पुगिन्। छोरीका पनि दुई छोरी छन्। पहिलो श्रीमतीको पेटमा देखिएको समस्याका कारण मृत्यु भएपछि छन्त्यालले वीरमतिलाई विवाह गरेका थिए।