भक्तपुरमा आर्थिक गणनाको तयारी तीव्र

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना देशभर आसन्न २०७५ सालमा हुँदैछ।यसको तयारी भक्तपुर जिल्लामा पनि तीव्ररूपमा भइरहेको छ।आर्थिक गणनाका लागि यतिबेला भक्तपुरमा ६१ जना गणक र ९ निरीक्षक छनोट भई तालिममा सहभागी भइरहेका छन्।

भक्तपुरको व्यासीस्थित वासु माविमा सञ्चालन भइरहेको तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले देशमै पहिलो पटक हुन लागेको यो गणनाले मुलुकको दिगो विकासको लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आर्थिक गणना जनगणना र कृषि गणनाजस्तै विशेष र आवधिकरूपमा सम्पन्न गरिने बताउँदै मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा आर्थिक गणनाबाट प्राप्त तथ्यांक राज्य पुनःसंरचनापछिको आर्थिक विकासका लागि भरपर्दो आधार बन्ने बताउनुभयो।

आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणकहरू सबै व्यवसायिक आर्थिक एकाइ अर्थात् प्रतिष्ठान, व्यवसाय आदिमा पुगी गणनाको करिब २ महिनाभित्र ती आर्थिक एकाइको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गर्ने जिल्ला आर्थिक गणना समन्वय समितिले जनाएको छ।

जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ जना गणक र ९ निरीक्षक छनोट भई तालिममा सहभागी भइरहेको बताउँदै कुनै व्यावसायिक आर्थिक एकाइ गणनामा नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण प्रदान गरिरहेको बताउनुभयो।

वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारामको प्रयोग गरी आर्थिक गणना गरिने बताउँदै यसअन्तर्गत उहाँले आर्थिक एकाइहरूको विस्तृत विवरण संकलन गरिने बताउनुभयो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले मलुकमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले व्यवसायी, प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य प्रयोगकर्तालाई व्यवसाय समृद्धिको लागि नीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार पेशल आचार्यलगायतको सहभागिता रहेको थियो।