आ–आफ्नै अडान यथावत् अझै खुलेन डीन कार्यालयको ताला

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल ल क्याम्पसका विद्यार्थी संगठन र वार्ता टोलीले आ–आफ्नै अडानलाई कायम राख्दा डीनको कार्यालयमा लगाएको ताला अझै खोल्न सकेको छैन। डीनको कार्यालयमा ताला लागेको झण्डै २ महिना हुनै लागिसकेको छ।

थोरै कोटा कायम गरेर तीन वर्षे स्नातक पहिलो वर्षमा भर्ना खुलाएकोलगायत विषयमा अखिलले फागुन १४ गते त्रिभुवन विश्वविद्यालयको प्रदर्शनीमार्गमा रहेको कानुन संकायका डीनको कार्यालयमा ताला लगाएको हो। डीन कार्यालयले स्नातक पहिलो वर्षका लागि फागुन ११ गते ५ सय जना भर्ना लिने सूचना प्रकाशित गरेको थियो।

अखिलका क्याम्पस कमिटी अध्यक्ष हरिप्रसाद पंगेनीले डिनको कार्यालयले थोरै कोटा कायम गरेर हचुवाको भरमा भर्ना खुलाएकाले ताला लगाउन बाध्य भएको बताउनुभयो। ‘डीन अफिसले हचुवाको भरमा भर्ना माग्यो। त्यो पनि थोरै सिटमा’, उहाँले भन्नुभयो– ‘थोरै कोटा कायम गरेको छ। त्यसमाथि संविधानले दिएको समावेशी कोटालाई कायम गरेको छैन। यो त डीन अफिसको मनपरि जस्तै भयो।’

अखिलले डीनलाई विभिन्न ७ माग राख्दै ज्ञापनपत्रसमेत बुझायो। ती मागमा सिट संख्या बढाउनुपर्ने, समावेशी संख्या तोक्नुपर्ने, अन्य शैक्षिक संस्थालाई तत्काल कानुन संकायको सम्बन्धन दिन नहुने, प्रवेश परीक्षामा वस्तुगत मात्रै नभई विषयगत पनि प्रश्न सोधिनुपर्नेलगायतका माग राखेका थिए।
यी मागलाई सम्बोधन गरी समस्याको समाधान गर्न भन्दै ताला लगाएको झण्डै १ महिनापछि चैत १३ गते डीन कार्यालयले प्राध्यापक गुणनिधि न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्यो।

त्यसयता १ पटक अखिलसँग र २ पटक सबै विद्यार्थी संगठनसँग गरी ३ पटक वार्ता टोलीले वार्ता गर्यो तर टुंगो लाग्न सकेको छैन। वार्ता टोली र विद्यार्थी संगठनले लिएको आ–आफ्नै अडानका कारण वार्ता टुंगोमा पुग्न नसकेको नेविसंघका क्याम्पस एकाइ नेता रितेश राजथलाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अहिलेसम्म ३ पटक वार्ता बस्यो। विद्यार्थी र वार्ता टोली आ–आफ्नै अडानमा छन्।’ उहाँका अनुसार, वार्ता टोली ५ सयभन्दा बढी सिटमा भर्ना गर्न नसक्ने अडानमा छन् भने विद्यार्थी संगठन अखिलले भने शुरूदेखि राखेको सिट बढाउनुपर्ने अडानलाई छोड्न तयार छैनन्।

अन्य विद्यार्थी संगठन नेविसंघ र अखिल क्रान्तिकारी भने भर्ना हुने सिट संख्या बढाउनुहुन्न भन्ने पक्षमा छन्। भर्ना लिँदा समावेशी कोटाअनुसार भर्ना लिन राखेको अखिलको मागलाई भने दुवै विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन्।

वार्ता टोलीले शुक्रबार फेरि अर्काे चरणको वार्ता डाकेको छ। सम्भवतः आजै वार्ता टुंग्याउने डीन कार्यालयका वार्ता टोलीका संयोजक प्राध्यापक गुणनिधि न्यौपानेले बताउनुभयो।

‘हामी ३ चरणसम्म विद्यार्थीसँग वार्तामा बसिसकेका छौं। हामी यो चरणलाई लम्ब्याउन चहान्नौं। सकेसम्म छिट्टै टुंग्याउँछौं’, उहाँले भन्नुभयो– ‘भोलि शुक्रबार वार्ता बस्ने भएको छ। सम्भवतः हामी वार्ता टुंग्याउने हिसाबले बस्छौं। नभए आइतबार–सोमबारसम्म कुरा मिल्छ।’
उहाँका अनुसार, क्याम्पसको क्षमता स्नातकमा ३ सयदेखि साढे ३ सयसम्म विद्यार्थी पढाउन सक्ने भएकाले ५ सय सिट क्षमता पनि बढी भएको भन्दै त्यहाँभन्दा बढाउन नमिल्ने अडानमा डीन कार्यालय रहेको छ।

भर्ना लिँदा समावेशी किसिमले लिनमा कुनै समस्या नरहेको वार्ता टोलीका संयोजक प्राध्यापक न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘भर्ना लिँदा समावेशी कोटा कायम गर्नेमा कुनै समस्या छैन। त्यो राखौंला। भर्ना परीक्षा लिँदा पनि वस्तुगत र विषयगत गर्न सकिन्छ । तर कुरा सिट संख्यामै मिलेको छैन। त्यो मिले सबै कुरा मिल्छ।’