प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालको विदेश यात्रा दक्षिणतर्फको छिमेकबाट शुरू भएको छ। यही मौकामा परराष्ट्र र अनेकथरि विज्ञहरूको भाउ बढेको छ। भ्रमणको मिति तय भएपछि र भ्रमणको २/४ दिन पछिसम्म यिनीहरू खुबै सलबलाउँछन्, सलबलाइरहेका छन्।
भ्रमणअघि प्रधानमन्त्रीले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भन्नेहरू धेरै हुन्छन्। अनि भ्रमणपछि यसो गर्नुपथ्र्यो, उसो गर्नुपथ्र्यो, यो भएन, त्यो भएन भन्ने एउटा जमात सक्रिय हुन्छ। अर्को जमातचाहिँ भ्रमण ऐतिहासिक, सफल र उपलब्धिमूलक बनेको दाबी गर्न तँछाडमछाड गर्छ। भ्रमणको पक्ष र विपक्ष को–को हुन्छन् भन्नेबारेमा धरहराले प्रस्ट्याइरहनुपर्दैन।
पक्ष–विपक्षमा रहनेहरूको गज्जबको भाउ बढ्छ। छापा होस या विद्युतीय सञ्चारमाध्यममा सबैतिर यिनै विज्ञहरू छाउँछन्, उनका बोली बिक्छन्। यता मात्र होइन, ‘उता’को अवस्था पनि उस्तै देखिन्छ। कूटनीतिक अभ्यास र सम्बन्धलाई राम्रोसँग बुझेकाहरूलाई धरहरा स्यालुट गर्छ। तर अल्पज्ञानका विज्ञको पगरी गुथ्न चाहनेलाई के भन्नु र खै?
यस्तो अवस्था देख्दा धरहरा खास विज्ञ र अल्पबुद्धिवालाहरूको वर्गीकरण गर्न सुझाव दिन्छ। तर सरकारले अल्पबुद्धिवालाहरूलाई काखी च्याप्ने वातावरण कहिले अन्त्य होला र? सञ्चारमाध्यमहरूले अल्पबुद्धिवालाहरूलाई सधैं भाउ दिएपछि सरकारले मात्रै कसरी लगाओस् लगाम?
प्रतिक्रिया