नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले जमानतका लागि दिएको निवेदनमाथि भारतको जोधपुर अदालतमा सुनुवाइ सकिएको छ। जोधपुरको कंकाणीमा सन् १९९८ मा कालो हरिणको शिकार गरेको अभियोगमा २० वर्षपछि खानलाई बिहीबार मात्रै जोधपुरको सिजेएम अदालतले ५ वर्षको जेल सजायको फैसला सुनाएको थियो।
सो फैसलाको जामानतका लागि सलमान खानले दायर गरेको निवेदनमाथि जोधपुरस्थित ‘सेशन कोर्ट’मा करिब डेढ घण्टा सुनुवाइ चलेको थियो। सुनुवाइका क्रममा खानका वकिल आनन्द देशाईले सलमानलाई जमानतमा रिहा गर्नका लागि न्यायाधिश समक्ष आग्रह गरेका थिए। यसअघि अदालतका हरेक आदेशहरु सलमानले मान्दै आएको र बोलाइएको समयमा पनि आफै अदालतमा उपस्थित भएको भन्दै वकिल देशाईले सेलीब्रेटी भएकोले सलमानलाई जमानत दिन आग्रह गरेको बताइएको छ।
सलमान खानका वकिलको पुरा बयान सुनेपछि ‘सेशन कोर्ट’का न्यायाधीश रविन्द्र कुमार जोशीले भोलि बिहान साढे १० बजे फैसला सुनाउने भन्दै अदालतको आजको कारबाही अन्त्य गरेका थिए।
सुनुवाइका क्रममा सलमानका दुवै वकिल महेश बोडा र आनन्द देशाई तथा उनका दुवै बहिनी अलविरा र अर्पिता पनि अदालतमा उपस्थित थिए। यसअघि वकिल बोडाले आज अदालतबाट सलमानले जमानत पाउनेमा आफु विश्वस्त रहेको बताएका थिए। तर सलमान खान थप एक दिन जेलमा बस्नुपर्ने भएको छ। उनलाई जोधपुरको केन्द्रिय कारागारमा राखिएको छ।
सलमानमाथि २० वर्षअघि वन अधिकृत ललित बोराले कालो हरिणको शिकार गरेको आरोपमा मुद्दा दायर गरेका थिए।











प्रतिक्रिया