मयूर यातायातलाई दिएको रुट मर्मिट खारेज गर्नुपर्नेलगायतका माग राखी काठमाडौंबाट बनेपातिर चल्ने सार्वजनिक सवारीसाधन नचलाई विरोधमा उत्रिएका केही यातायात व्यवसायीले आखिर यातायात चलाउन बाध्य भएका छन्। गत बुधबार पूरै ठप्प भएको यातायात बिहीबार चलेको देखियो। अन्ततः यातायात क्षेत्रमा ‘सिन्डिकेट’ लाद्न कस्सिएर लागेका यातायात व्यवसायीलाई घुँडा टेकाउन यसपटक भने सरकार सफल भएको मान्नै पर्छ।
सरकारले आफ्नो निर्णयबाट पछि नहटी बुधबार साझा, मेट्रोलगायतका थप बसहरू सो रुटमा चलाइदिनाले काभ्रे मिनिबस र माइक्रोबस व्यवसायीले बिहीबार आफ्ना यात्रुवाहक बसहरू सडकमा निकाल्न बाध्य भएका हुन्। यातायात व्यवसायी नसुध्रेसम्म मुलुक सुध्रिँदैन। अब घण्टौं रोकेर यात्रु कोच्ने, बढी भाडा असुल्ने, सिट आरक्षण लागू नगर्ने, कार्ड छुट नदिने यस रुटका यातायात व्यवसायीलाई कठघरामा उभ्याउन बाँकी छ। यसका लागि अब सरकारले घुँडा नटेकोस्। यात्रुले साथ दिनेछन्।
– रञ्जन थापा, नयाँ ठिमी, भक्तपुर
चमेरे गुफाको संरक्षण जरुरी
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४, मूलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ। करिब दुई दशकपहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके बाह्रै महिना आन्तरिक पर्यटकको प्रवद्र्धन हुनुका साथै नेपालकै चर्चित पर्यटकीय स्थल हुन सक्नेमा दुई मत छैन। चमेरे गुफासम्म पुग्नको लागि सडक समस्या सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ। तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवद्र्धनमा समेत सबैको ध्यान पुग्नुपर्ने देखिन्छ।
प्राकृतिकरूपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास हुने निश्चित छ। हाल गुफामा दैनिकरूपमा ५० देखि ६० जनासम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेका छन्। यदि गुफाको संरक्षण र प्रचारप्रसार हुने हो भने दाङ जिल्लामा पर्यटक भित्र्याउने एउटा गतिलो माध्यम बन्न सक्छ यो गुफा।
तीन तला रहेको गुफासम्म पुग्नको लागि जिल्ला विकास समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन सकेको छैन। गुफाभित्र विभिन्न देवी–देवता, शेषनाग र बाघको स्वरूप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो–कोही चकित पर्ने गरेका छन्। गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरूप देख्न सकिन्छ। अहिलेसम्म यो गुफा हेर्न जाने कोही पनि किन आइएछ भनेर पछुताउनुपरेको अवस्था छैन। यसको प्रचारप्रसार र संरक्षण केन्द्रीय तहबाटै हुन जरुरी छ।
– दीलिप सुनार, घोराही, दाङ
ढोरपाटन पछाडि पर्यो
नेपालकै पहिलो एवं एकमात्र सिकार आरक्ष ढोरपाटन विभिन्न कारणले पछाडि परेको छ। यो क्षेत्र मुख्यतया विकासका दृष्टिले ओझेलमा परिरहेको छ। लामो समयदेखि स्वदेशी एवं विदेशी पर्यटक आउन थाले पनि विकासमा अझै ओझेलमा परेकोले यसमा सरकारले ध्यान दिनु जरुरी देखिन्छ। ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष भएर पनि अपेक्षित विकास नहुँदा न त यहाँका सर्वसाधारणको जीवनस्तर माथि आउन सकेको छ, न त राज्यको आम्दानी बढेको छ।
यहाँको विकाससँगै जनजीविकासँग जोडिएका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ। अधिकार सम्पन्न ढोरपाटन विकास समितिका माध्यमबाट दीर्घकालीन सोचका साथ गुरुयोजना बनाएर अघि बढ्नुपर्छ। यो विषयमा सम्बन्धित निकायको ध्यान पुगोस्। २ हजार ८ सय मिटर उचाइको ढोरपाटनबाट ५ हजार मिटरभन्दा उचाइका उच्च हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटनका अथाह सम्भावना छ तर प्रचारप्रसारसँगै संरक्षण र विकासको काम हुन सकेको छैन। ढोरपाटनको समग्र विकासका लागि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक छ। होटललगायतका पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ।
– सुरेश कार्की, बागलुङ
कृषि क्षेत्रलाई उपेक्षा नगरौं
हाम्रो देश कृषिप्रधान देश भएर पनि कृषिमा नै पर निर्भरता हुनुपरेको छ। मुलुकको शिक्षा प्रणाली र सरकारले कृषिसम्बन्धी खासै चासो नदेखाउँदा यस्तो अवस्था भएको हो। हाम्रो देशको भौगोलिक विविधता कृषिका लागि वरदान भए पनि मुलुकमा पूर्वाधार विकास हुन नसक्दा यही भौगोलिक अवस्था आज कृषि पेसाका लागि असजिलो बनेको छ। गाउँ, समाजमा उत्पादित वस्तु बजारसम्म पुर्याउन कठिन, समयमा वीउबिजनको अभाव नै आजको हाम्रो देशमा कृषिको लागि सबैभन्दा समस्या बन्ने गरेको छ। खेतीयोग्य जमिनको छनोटको समस्या त छँदै छ, खेती लगाइसकेपछि त्यसको उचित समयमा गोडमेल, मल, खेतीमा लाग्ने रोगको उचित निवारण गर्न नजान्दा कृषकले नोक्सान बेहोर्नुपरेको छ।
हाम्रो मुलुकको प्रायजसो स्थानमा नगदेबालीका लागि खेतीयोग्य जमिन पाइन्छ। तर त्यस स्थानमा यसबारे उचित शिक्षा नहुँदा र बजारको पहुँच नहुँदा कृषकले घरायसी अत्यावश्यक वस्तुहरूमा पनि परनिर्भर हुनुपरेको छ। यसरी युवाहरू गाउँ, समाजमा कृषि तथा अन्य पेसाबाट वञ्चित हुँदा पनि विदेश पलायन हुनुपरेको छ। गाउँ–गाउँमा सरकारले कृषिसम्बन्धी उचित तालिम र अनुदानको सीमा बढाएर युवाहरूलाई देशमा नै रोजगारीको सिर्जना गर्न सक्छ भने स्थानीय स्तरमा त्यसको महत्व बुझाएर आमनागरिकलाई कृषिप्रति आकर्षण गराउन सकिन्छ। एक युवाले विदेशबाट पठाउने रेमिट्यान्सभन्दा दुई गुणा ज्यादा फाइदा उठाउन सकिन्छ।
मुलुक अहिले संघीय प्रणालीमा गएको छ। केन्द्रका सबैजसो अधिकार स्थानीय तहलाई दिइएको छ। अब स्थानीय सरकारले ग्रामीण भेगमा कृषिमा लगानी गर्ने अग्रसरता देखाउन सके देशले कृषिमा फड्को मार्ने अवस्था आएको छ। स्थानीय माटो, त्यहाँको बजार र नागरिकको मागलाई नजिकबाट बुझेको स्थानीय सरकारले उचित ठाउँअनुसार बजारको व्यवस्था, कृषकलाई सहज अनुदान र तालिम दिएर कृषिमा परनिर्भरता कम गर्दै नागरिकलाई रोजगारी सृजना गर्न जरुरी छ।
जब जनता सबल बन्छन्, रोजगारमूलक समाज बन्छ र त्यो समाज समुन्नत बन्न सक्छ। समाज समुन्नत बने मात्र राष्ट्र समुन्नत बन्छ। त्यसैले आजको नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन अब स्थानीयदेखि केन्द्र सरकारसम्मले गुरु योजनासहितको १ देखि क्रमशः ५ बर्से योजना बनाएर कृषिमा लगानी गर्न जरुरी छ। यसरी जाने हो भने गाउँमै रोजगारी सृजना भई युवाहरू विदेश पलायन हुन पनि कम भएर जानेछ।
– सुशान्त डंगोल, काठमाडौं
प्रतिक्रिया