वडा–वडामा व्यवसाय दर्ता

0
Shares

नेपाल समाचारपत्र
बुटवल
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ। नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो।

नगरपालिकाको अधिकार क्षेत्रभित्र सञ्चालनमा रहेका सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्यले वडामै पुगेर शिविर सञ्चालन गरिएको नगर प्रमुख घिमिरेले बताउनुभयो।

हालसम्म वडा नं. ३, ४ र ५ मा सम्पन्न शिविरबाट ४ सय ११ जना व्यवसायीहरू करको दायरमा आएका छन्। उनीहरूबाट झण्डै ९ लाख रुपियाँ कर संकलन भएको नगरपालिकाका कर अधिकृत इन्द्रदत्त सापकोटाले जानकारी दिनुभयो।

व्यवसायको प्रकृति र पुँजीअनुसार नगरपालिकाले व्यवसाय कर निर्धारण गरेको छ। व्यवसाय दर्ता शिविर क्रमशः सबै वडामा सञ्चालन गरिने कर अधिकृत सापकोटाले बताउनुभयो।

नगरभित्रका व्यवसायीको अभिलेख अद्यावधिक राख्नुका साथै व्यावसायिक नीति तर्जुमा गर्नसमेत यसले सहयोग पुर्याउने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो–‘व्यवसाय दर्ता अभियानले नगरभित्रको व्यावसायिक गतिविधिको जानकारी नगरपालिकालाई हुनेछ।

व्यवसायीको सहजताका लागि नगरपालिकाको टोली घरदैलोमै पुगेर सबै प्रक्रिया पुर्याएर त्यहीँ दर्ता गरी प्रमाणपत्र दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। तिलोत्तमा नगरकार्यपालिकाको गत फागुन ११ को निर्णयानुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न व्यवसायहरूको व्यवसाय दर्ता तथा कर संकलन कार्यलाई अभियानको सञ्चालन गरिएको हो।