प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि अरुण तेस्रोको शिलान्यास दिल्लीबाट

0
Shares

काठमाडौं, (नेस)

नेपाल–भारतबीच विभिन्न समयमा भएका पुराना सम्झौता कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश यात्राका लागि आज शुक्रबार दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ।

जलस्रोत, ऊर्जा, पारवहान, व्यापार, पूर्वाधार विकासलगायतका क्षेत्रमा भएका सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित हुँदै छ। विद्युत्, व्यापार, रेल सञ्जाल, पेट्रोलियम पाइप लाइन विस्तार, सीमा क्षेत्रको डुबान नियन्त्रण, पूर्व–पश्चिम हुलाकी मार्ग विस्तारमा भएका कार्यको समीक्षा हुने बताइएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, अरुण तेस्रो परियोजना, विशाखापट्टनम् बन्दरगाहजस्ता विषयले अहिलेको भ्रमणमा पनि महत्त्व पाउने भएको छ।

स्वयम् प्रधानमन्त्री ओलीले भ्रमणमा नयाँ सहमति⁄सम्झौता हुने भन्दा पनि विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिइने, द्विपक्षीय सम्बन्धलाई समय सापेक्ष बनाउन भ्रमण केन्द्रित हुने बताउनुभएको छ। दुवै मुलुकका सन्धिसम्झौता पुनरावलोकन गर्ने विषय नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले किनारा लगाउन द्विपक्षीय बैठक र छलफल गरिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा यो विषय एजेन्डाका रूपमा नरहने बताइएको छ। मुलुकको राष्ट्रिय हित र चासोमा अडिग रहँदै विगतका सम्झौता कार्यान्वयनमा जोड दिन पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरूले पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

सरकारले भ्रमणका क्रममा नयाँ सम्झौता नहुने बताइरहेका बेला भारतीय पक्षले बहुमत प्राप्त नयाँ सरकारसँगको सम्बन्ध सुमधुर बनाउन नेपाललाई कुनै नयाँ सहयोग घोषणा गर्न सक्ने चर्चासमेत भएको छ। नाकाबन्दीपछि सम्बन्धमा गडेको तुस हटाएर एक अर्को मुलुकको मानसिकता परिर्वतन गर्दै विश्वासको वातावरण बनाउन दुवै पक्षले यो भ्रमणलाई उपयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

सम्बन्ध सुधार, भारतसँग बढ्दो व्यापारघाटा न्यूनीकरण, सीमा व्यवस्थापन, अवरुद्ध सार्क सम्मेलनजस्ता विषयमा भ्रमणले उत्साह थप्नुपर्ने उनीहरूको सुझाव छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी रहनुहुनेछ।

त्यसैगरी मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश वज्राचार्य, एमाले नेता डा. राजन भट्टराईलगायत पनि सहभागी रहनुहुनेछ।

परराष्ट्र सचिव, वाणिज्य सचिव, जलस्रोत सचिवलगायतका अधिकारी पनि भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ९ बजे दिल्ली प्रस्थान गर्दै छ। आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उप–राष्ट्रपति, विदेशमन्त्री, गृहमन्त्री, वित्त मन्त्रीलगायत अन्य भारतीय अधिकारीसँग उहाँले शनिबार शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री ओलीको सम्मानमा शुक्रबार साँझ दिल्लीस्थित नेपाली दूतावासले रात्री भोजसहित नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ। त्यसअघि उहाँले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय कंग्रेसआई अध्यक्ष राहुल गान्धी र अन्य विभिन्न दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीको यसपटकको दिल्लीयात्रा विगतका अन्य उच्चस्तरीय भ्रमणभन्दा केही पृथक् रहनेछ। विगतका भ्रमणको परम्परा तोड्दै यो भ्रमण ३ दिनको मात्रै हुनेछ।

भ्रमणका क्रममा भारतले निर्माण गर्ने भनिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास भारतको राजधानी नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरूपमा गर्नुहुने भएको छ। लामो समयदेखि चर्चामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाले भ्रमणपछि मूर्तरूप लिने भएको छ।