नेपाल समाचारपत्र, काठमाडौँ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।
एसएसपी लोहोनीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो । लोहोनीलाई फिर्ता बोलाउन गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले लोहनीको बयान लिएको थियो । कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथि छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार एसएसपी लोहनीको बयान लिएको हो । लोहनीसँगै अपरेशनको नेतृत्व गर्ने डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको पनि बयान लिइएको खुल्न आएको छ ।
तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहँदारहँदै भागेको कुरालाई शंकास्पद रुपमा हेरिएको गृह मन्त्रालय निकट स्रोतले जनाएको छ ।











प्रतिक्रिया