सुब सेनका चार नाट्यकृति सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा साहित्यकार सुब सेनका चार नाट्यकृतिको वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले एक समारोहका बीच सार्वजनिक गर्नुभयो।

कार्यक्रममा उहाँले पहिले अरू विधाभन्दा नाट्य विधा बलियो र लोकप्रिय भएको तर अहिले नाट्य लेखन र मञ्चन दुवै घटेर गएको बताउनुभयो।
‘यसो हुनुमा प्रविधिको विकास मुख्य कारण हो तर नाटकको महत्त्व घटेको छैन, नाटककारको संख्यामात्र घटेको हो। यस्तो अवस्थामा सुब सेनबाट एकैपटक चार वटा नाट्यकृति प्रकाशन हुनु भनेको सुखद पक्ष हो’ –रिसालले भन्नुभयो।
विमोचित उक्त चार नाट्यकृतिमध्ये ‘शहीद कृष्णलाल’, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेबाट, ‘लखन थापा गगनसिंह चुमी’ प्राडा दुर्गाप्रसाद अर्यालबाट, ‘शहीद सभा’ प्राडा कृष्णप्रसाद दाहालबाट र ‘मैनाबहादुर खण्डमान’ प्राडा गोविन्दमानसिंह कार्कीबाट समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कृतिकार सुब सेनले राष्ट्रका लागि बलिदान दिएका तर कतिपयलाई राज्यले सम्झन नसकेका शहीदहरूका बारेमा कृति लेखेर शहीदहरूप्रति सम्मान गरेको र राज्यको आँखा नपरेका अन्य सच्चा शहीदहरूका बारेमा पनि कृति लेख्ने अठोट व्यक्त गर्नुभयो।