भारत सद््भावना भ्रमणः प्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ। बुधबार बिहान बालुवटारमा पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पार्नुभयो। ‘यसपालिको भ्रमणमा कुनै सन्धि समझौता हँुदैनन्। देशको अहितमा कुनै काम गरिँदैन। विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति थियो। पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो। उहाँहरूले नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँहरूले पुरानो मानसिकता राखेर २१औं शताब्दीको सम्बन्ध विकास गर्न नसकिने बताउनुभएको थियो।
पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ। उहाँँले नेपाल–भारत सम्बन्ध ‘भाइ–भाइको हैन मित्र–मित्रजस्तो हुनुपर्ने’ बताउनुभएको छ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल–भारत सम्बन्धमा अहिले सुधार आएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यौं खास समस्या छैन भनेर बुझाउनुपर्छ।’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकाले यसलाई उकास्ने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताउनुभयो।

छलफलमा पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पनि प्रतिनिधित्व थियो।