किम जोङ उनलाई किन घेरे दक्षिण कोरियाका ‘तरुनी’ले ?

0
Shares

काठमाडौं । दक्षिण कोरियाको गर्ल ब्याण्ड ‘रेड भेल्भेट’ कुनै सदस्यले सपनामा पनि सोचेका थिएनन् होला उनीहरुको सबैभन्दा ठूलो फ्यान उत्तर कोरियामा भेटिनेछन्, त्यो पनि सर्वोच्च कमाण्डर किम जोङ उनका रुपमा ।

आफ्नो व्यस्त दैनिकीका बीच किम जोङ उन पत्नीसहित दक्षिण कोरियाली कलाकारहरुको कन्सर्टमा पुगेका थिए । तनाव घटेर कूटनीतिक सम्बन्ध बढ्दैजाँदा करिब एक दशकपछि १६० सदस्यीय दक्षिण कोरियाली कलाकारहरुको टोली प्योङयोङ पुगेको छ । यससँगै किम दक्षिणका कलाकारको प्रस्तुति हेर्न पुग्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका छन् ।

तर कन्सर्टभर के–पप ब्यान्ड रेड भेल्भेट र त्यसका स्टारहरुले चाहिँ किमलाई सबैभन्दा बढी मोहित तुल्याए । रेड भेल्भेटले सो कन्सर्टमा तिनका चर्चित गीतहरु ‘ब्याड ब्वाइज्’ र ‘रेड फ्लेवर’ प्रस्तुत गरेका थिए ।

‘मैले सुरुमा पर्सीको दिन कन्सर्ट हेर्ने योजना बनाएको थिएँ तर म आजै आफ्नो कार्यतालिका मिलाएर यहाँ आएँ,’ किमले भने, ‘प्योङयोङका नागरिकलाई यस्तो उपहार दिनुभएकोमा म तपाईंहरुप्रति कृतज्ञ छु ।’

सो अवसरमा करिब ४६ लाख इन्स्टाग्राम फलोअर्स रहेको रेड भेल्भेटका सदस्यहरुसँग पनि किमले कुरा गरेका थिए । एजेन्सी