स्थानीय तहमा मनोमानी, जथाभावी निर्णय गर्दै जनप्रतिनिधि

0
Shares

हिक्मत नेपाली, दैलेख ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले मनोमानी निर्णय गर्न थालेका छन् ।

गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भई आएका पदाधिकारीहरुले स्थानीय तहमा मनोमानी निणर्य गर्न थालेपछि स्थानीय बासीले विरोध जनाएका छन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले न्यूनतम मापदण्ड पुरा नगरि हचुवावको भरमा संचालन गरेका विकास गतिविधीहरु प्रति स्थानीयले विरोध जनाएका हुन् । गाउँपालिकाले विज्ञापन नै नखुलाई कर्मचारी नियुक्ती दिएको, उपभोक्ता समिति नै गठन नगरि सडक निर्माणको काम गरेको, सडक निर्माणको काममा लापरबार्ही गरेको, प्रहरी चौकीमा सामग्री खरिद नै नगरि भुक्तानी दिएको लगाएतका विषयमा स्थानीयले विरोध जनाएका छन् ।

प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती

डुङ्गेश्वर गाउँपालिकाले प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको प्रति स्थानीय बासीले विरोध गरेका छन् । गाउँ कार्यपालिकाको गत फागुन २१ गते बसेको बैठकले विभिन्न पदमा आफुखुसी कर्मचारी नियुक्ती गरेको भन्दै स्थानीय स्थानीयले विरोध जनाएका हुन् । कर्मचारी नियुक्तीका लागि विज्ञापन नै नगरि आफुखुसी कर्मचारी नियुक्तीको विरोध गर्दै गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण गराउन पुगेको स्थानीयबासीले तत्काल निर्णय सच्चाउन आग्रह गरेका छन् । डुङ्गेश्वर गाउँपालिका अन्तरगत गाउँ कार्यपालिकाको कार्यालय र गाउँकार्यपालिका अन्तरगत वडा नं. ३ र वडा नं. ६ मा हाल सम्म रिक्त रहेको न्यूनतम स्वीकृत दरबन्दी अन्तरगत पारिश्रमिक पाउने गरि करार सेवा अन्तरगत नियुक्ती गरिएको थियो ।

कर्मचारी नियुक्तीका लागि विज्ञापन नै नगरि आफुखुसी कर्मचारी नियुक्तीको विरोध गर्दै गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण गराउन पुगेको स्थानीयबासीले तत्काल निर्णय सच्चाउन आग्रह गरेका छन् ।

डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का टिकाराम पोख्रेरललाई गाउँपालिकाको कार्यालयमा कामकाज गर्ने गरि नियुक्ती दिएको थियो । यस्तै दुर्गा अर्याललाई वडा नं. ६ को वडा कार्यालयमा कामकाग गर्ने गरि नियुक्ती दिइएको छ भने राजेन्द्र कुमार केसीलाई वडा नं. ३ को कार्यालयमा कामकाग गर्ने गरि नियुक्ती दिने बैठकले निणर्य गरेको थियो ।

कार्यपालिकाको बैठकले वडा नं. २ मा काम गरिरहेका जेटिए सूर्य बहादुर रावल लोक सेवा आयोगको परिक्षामा उतिर्ण भएपछि रिक्त रहेको पदमा वडा नं. २ का विमल कुमारी केसीलाई करार सेवामा नियुक्त गरेको थियो भने बैषाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं. २ को वडा सदस्यका उम्मेदवार समेत रहेका श्याम कुमार विष्टलाई गाउँपालिकाको सामाजिक विकास शाखा सहायक पदमा नियुक्त गरेको थियो ।

यस्तै पदम बहादुर भण्डारीलाई प्रमुख प्रशासकिय अधिकृतको भान्सामा भान्से पदमा नियुक्ती गरेको थियो भने गाउँपालिकाको कार्यालयमा रहने गरि महेन्द्र प्रसाद दाहललाई पाले पदमा नियुक्त गरेको थियो । यस्तै अवलपराजुल स्वास्थ्य चौकीमा मासिक ३५ सय तलब पाउने गरि धनी तिरुवालाई पाले पदमा नियुक्ती दिइएको थियो । पाले पदमा नियुक्त भएका धनी बाहेक अन्य कर्मचारीहरुको तलब स्केल निणर्यमा तोकिएको छैन् ।

यस अघि नियुक्ती नभई काम गर्दै आएका कर्मचारीहरुले डोर हाजिर भरि तलब खाँदै आएका थिए । गाउँपालिकाले न्यूतम माण्दण्ड नपु¥याएरै मनोमानी ढंगले कर्मचारी नियुक्ती गरेको प्रति आफुहरुले विरोध गरेको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का मान बहादुर विष्टले बताए । प्रक्रिया नपु¥याएरै कर्मचारी नियुक्ती दिएको भन्दै विरोध जनाएका वडा नं. २ का वडा सदस्य रुद्ध बहादुर विष्टले निणर्य सच्चाउन आग्रह गरेका छन् ।

उनले कार्यपालिकाको बैठकबाट निणर्य सच्चाएर विज्ञापन खुलाई खुल्ला प्रतिश्पर्धाबाट कर्मचारी नियुक्त गर्न विष्टले माग गरे । उनले निणर्य नसच्चाए थप आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लका अनुसार नियुक्ती पाएका कर्मचारीहरुले कामकाग गर्दै आएको मिति देखिनै सेवा सुविधा पाउने बताए ।

सामग्री खरिद नगरेरै रकम भुक्तानी

डुङ्गेश्वर गाउँपालिकाको वडा नं. २ मा रहेको अस्थायी प्रहरी चौकी चुप्रामा सामग्री गरिद नै नगरि गाउँपालिकाले भुक्तानी दिएको पाइएको छ । प्रहरी चौकीमा विभिन्न सामग्री खरिदका लागि गाउँपालिकाले २ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले विनियोजित बजेटमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक धन बहादुर धामीले सामग्री खरिद नगरि रकम भुक्तानी लिएको खुलेको हो ।

रकम प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी गरिएको छ । गाउँपालिकाले विनियोजित गरेको रकममा प्रहरी चौकीमा सामग्री नै खरिद नगरि व्यक्तिको नाममा रकम भुक्तानी गर्नु सरासर गलत भएको स्थानीय श्याम बहादुर रानाले बताए ।

चौकी इन्चार्जले सामग्री खरिद नै नगरि बिल भरपाई पेश गरि भुक्तानी लिएको भन्दै उनले विरोध जनाए । प्रहरी चौकी इन्चार्जले सामग्री खरिद नगरि कामदारहरुको डोर हाजिर फारम र विल भरपाईमा बुझाएका छन् । स्थानीय चुप्रा बजारमा पाइने सामानहरु पनि नेपालगंज देखि खरिद गरिएको विल पेश गरिएको छ । गाउँपालिकाले २ लाख रुपैयाँमा भ्याट रकम कट्टा गरि १ लाख ९७ हजार रुपैयाँ प्रहरी सहायक निरिक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी दिएको छ । यसबारे प्रहरी सहायक निरिक्षक धन बहादुर धामीले सामग्री अर्डर भएको बताउदै एक हप्ता भित्र सामग्री आइपुग्ने बताए ।

उनले आफ्नो नाममा काटिएको चेक गाउँपालिकालाई फिर्ता गर्ने बताए । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ले प्रहरी चौकीमा सामग्री खरिद गरे नगरेको बारे तत्काल अनुगमन गर्ने बताए । उनले प्रहरी सहायक निरिक्षक धन बहादुर धामीको नाममा भुक्तानी गरिएको रकम फिर्ता लिएर वडा कार्यालय वा चौकी व्यवस्थापन समितिको नाममा रकम भुक्तानी दिने बताए । प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले सामग्री खरिद नभएरै भुक्तानी दिनु गलत भएको बताउदै यसबारे गाउँपालिकाले अनुगमन गरि सामग्री खरिदका लागि ताकेता गर्ने बताए ।

२५ सयका दरले ६९ घण्टा सडक निर्माणको काम गरि १० लाख स्वाह

सोहि गाउँपालिकाको वडा नं. ३ को चौखोडा देखि बागिना रातामाटा सडकमा विनियोजित रकम दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाले उक्त सडक मर्मतका लागि १० लाख ८० हजार रुपैयाँ विनियोजित गरेको थियो । उक्त रकममा प्रति घण्टा २५ सयका दरले डोजर लगाएर फरफारक गरिएको पाइएको हो । प्रति घण्टा २५ सयका दरले ६९ घण्टा मात्रै काम भएको उभोक्ता समितिका सचिव दलबहादुर खत्रीले जानकारी दिएका छन् ।

उनले अरु रकम कहाँ खर्च गरिएको हो आफुलाई कुनै जानाकरी नभएको बताए । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले अघिल्लो आर्थीक बर्षमा गाविसले सडक निमार्ण गरेको र त्यसको ऋण तिरेको जवाफ दिए । उनका अनुसार सडक निर्माणका क्रममा रकम हिना मिना भए नभएको बारे अनुगमन गर्ने बताए ।

यस्तै गत आर्थीक बर्ष २०७३/०७४ को बजेटमा निर्माण गरिएको बास्कोटी खानीचौर सडक खण्डको २ लाख २७ हजार रुपैयाँ सडक निर्माण उपभोक्ता समितिबाट डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बम बहादुर बिसीले जिम्मा लिएर डोजर मालिकलाई नबुझाएको पाइएको छ । कुल बजेटमा २३ हजार रुपैयाँ खाना खर्च शिर्षकमा उपभोक्ता समितिले खर्च गरेको थियो ।

वडा अध्यक्ष विसीले उपभोक्ता समितिबाट रकम जिम्मा लिएको कागज समेत गरेका छन् । डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ (साविकको डाँडापराजुल गाविस वडा नं. ४) को बास्कोटी खानिचौर सडक निर्माण उपभोक्ता समिति र सडक निर्माण कम्पनी रारा हाइड्रोपावरका संचालक बैद्य संगको मौखिम संल्लाह अनुसार सडक निर्माण गरिएको थियो ।

उपभोक्ता समिति संग भएको मौखिक सल्लाह अनुसार निर्माण कम्पनी सम्झौता गर्न नआएपछि उपभोक्ता समितिले वडा कार्यालयलाई जिम्मा लगाएको थियो । उक्त रकमको जिम्मा वडा अध्यक्ष बम बहादुर विसीले लिएका थिए । यसबारे डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बम बहादुर विसीले निर्माण कम्पनी रारा हाइड्रोपावरले वडा कार्यालय संग सम्भौता गर्न नआएकाले रकम भुक्तानी नभएको बताए । उनले निर्माण कम्पनीले सम्झौता गरि भ्याट विल पेश गरे मात्रै भुक्तानी गर्न सकिने जवाफ दिए ।

उपभोक्ता समिति बिना सडक निर्माण

यस्तै सोहि गाउँपालिकाको वडा नं. ३, ४ र ५ लाई जोड्ने भोसीखेल्ने ज्यामना सडक खण्ड उपभोक्ता समिति गठन नै नगरि काम सडक निर्माणको काम गरेको पाइएको छ । योजना पास भइसकेपछि वडा नं. ३ का वडा अध्यक्ष उदयराम न्यौपानेले एक जना व्यक्तिलाई जिम्मा दिएर सडक निर्माण गर्न लगाएका थिए ।

उपभोक्ता समिति गठन नै नगरि सडक निर्माण गरेपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयको विरोध पछि डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष खगेन्द्र बहादुर थापाले उपभोक्ता समिति गठन गर्न लगाएका थिए । उपभोक्ता समिति गठन भएपनि कुनै पनि निकायमा सम्झौता भने हुन सकेन् ।

वडा नं. ४ ले गठन गरेको उपभोक्ता समिति संग सम्झौता हुन नसकेपछि अहिले वडा नं. ३ कै रोहवरमा सडक निर्माणको काम भइरहेको स्थानीय मान बहादुर विष्टले बताएका छन् । उनले गाउँपालिकाबाट संचालन भएका विकास गतिविधीहरुमा जनप्रतिनीधिहरुले चरम लापरबार्ही गरेको आरोप लगाए ।

न उपभोक्ता समिति छ, न ठेक्का, न त टेन्डर नै उनले भने “गाउँपालिकामा निर्वाचित प्रतिनीधिहरुले कार्यकर्ता पाल्नकै लागि यस्तो गरेका हुन् ।” उक्त सडक निर्माणका लागि २३ लाख रुपैयाँ बजेट विनीयोजन भएको थियो ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकामा यसबारे जानकारी नआएको बताए । अब गाउँपालिकाले वडा कार्यालयसंग बास्तविक कुरा बुझी छानवीन प्रक्रिया अगाडी बढाउने मल्लले जनाए ।