रुसले बेलायतपछि अमेरिकासँग लियो देश निकालामा बदला

0
Shares

मस्को । अमेरिकाले आफ्नो मुलुकका कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएपछि रुसले पनि त्यसको बदला लिएको छ । रुसले अमेरिकी ६० जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसले  देश निकालामा अमेरिकासँग संख्यात्कम रुपमा पनि बराबरी बदला लिएको हो ।

तर यसलाई अमेरिकाले भने आधारहीन भनेको छ । अमेरिकाले आफ्ना कूटनीतिज्ञहरुलाई रुसले बिना कुनै आधार देशनिकाला गरेको बताएको छ । रुसको सहर सेन्ट् पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गराउने आदेश रुसी विदेश मन्त्रालयले दिएको छ । विदेशमन्त्री सर्गेइ लाभरोवले ४८ घण्टाभित्र कन्सुलेट कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको हो ।

रुसको आदेशपछि अमेरिकाले  त्यसप्रति  प्रतिक्रिया जनाएको छ । अमेरिकाले रुसी कूटनीतिज्ञहरुलाई उनीहरुको कामका आधारमा देश निकालेको जनाएको छ र भनेको छ– तर रुसले भने बदला लिने मात्र कामग¥यो, हाम्रा कूटनीतिज्ञ निकाल्नुपर्ने आधार रुससँग छैन ।

पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्काशन गर्दै आएको छ । त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने गरेको छ । शुरूमा अमेरिकाले दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो ।

त्यसैको जवाफस्वरुप रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो । यता रुसले पनि सेन्ट पिटस्बर्गमा रहेको एक अमेरिकी कन्सुलेट कार्यालय बन्द गराएको हो । यस घटनापछि यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ । एएफपी