छक्का पञ्जालाई पौने दर्जन फान अवार्ड



गाजलु र जात्रालाई ३/३, निर शाहलाई १ लाख ११ हजारसहित दिर्घ साधना सम्मान

 

विदुर गिरी
नेपाल चलचित्र कलाकार संघद्धारा राजधानीमा शुक्रबार साँझ सम्पन्न दोस्रो फान अवार्ड २०७३ मा छक्का पञ्जाले सर्वाधिक धेरै पौने दर्जन विधाको अवार्ड चुमेको छ। २४ विधामा अवार्ड प्रदान गरिएको समारोहमा छक्का पञ्जाले उत्कृष्ट फिल्मसँगै नव निर्देशक, खलपात्र, सहअभिनेता, हास्यकलाकार, पटकथा, संवाद, संगीतकार र नृत्य निर्देशक गरी ९ विधाको अवार्ड चुमेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा औपचारिकरुपमा आरम्भ गरिएको अवार्ड समारोहमा गाजलुले निर्देशक, सहअभिनेत्री र नवनायिका गरी ३ विधाको अवार्डलाई आप्mनो बनाएको छ भने जात्रा नामक फिल्म कथा, अभिनेता र सम्पादन गरी ३ विधाको अवार्ड विजेता भएको छ। जात्राबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा डाइङ क्याण्डलबाट सिर्जना सुब्बा अभिनेत्री अवार्डको हकदार बनिन्। त्यसै गरी के म तिम्रो होइन रबाट आर्यन अधिकारीले नव नायकको अवार्ड चुम्दा गाजलुबाट नेपाल सुन्दरीसमेत रहेकी नायिका सृष्टी श्रेष्ठ नवनायिकाको अवार्ड विजेता भईन्।

अभिनेता तथा रंगकर्मी हरिहर शर्मा जुरी संयोजक तथा प्रथम एनिमेटर, गीतकार एवं फिल्म सम्पादक करुण थापा, संगीतकार आलोकश्री, फिल्म सम्पादक तथा निर्देशक रक्षासिंह राणा र पत्रकार कृष्ण भट्टराई निर्णायक रहेको अवार्डमा छक्का पञ्जा फिल्म उत्कृष्ट फिल्म ठहरिँदा गाजलुबाट हेमराज विसी उत्कृष्ट निर्देशक सावित भए। दीपाश्री निरौलाले फेरि अवार्डको मञ्चमा नव निर्देशकको अवार्ड चुमिन्।
नृत्य र हस्यौलीजस्ता मनोरञ्जक प्रस्तुतिका साथ सवा ४ घण्टासम्म चलेको अवार्ड समारोहमा करिब ५ दशकदेखि कला र फिल्मका विभिन्न विधामा योगदान पुर्याएवापत गीतकार, फिल्म निर्माता, निर्देशक तथा अभिनेता निरविक्रम शाहलाई प्रमुख अतिथी केपी शर्मा ओलीले दिर्घ साधना सम्मान २०७४ बाट सम्मानित गरे। शाहलाई नगद १ लाख ११ हजार १ शय ११ रुपियाँसहित सम्मानित गरिएको हो। समारोहमा उनको जीवनी झल्किने अडियो भिडियो प्रस्तुत गरिएको थियो भने उनको सम्मानमा हलमा रहेका सबैजना सिटबाट उठेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नायक नायिका प्रदीप खड्का र साम्राज्ञी राज्य लक्ष्मी देवी शाहलाई स्टार अफ द इयर २०७४ का रुपमा सम्मान गरेका थिए भने पत्रकारद्धय ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मानित गरेका थिए।

प्रभात रिमालका साथ विलसनविक्रम राई र छुल्ठीम गुरुङ, जितु नेपाल र दीपाश्री निरौला तथा राजेश घतानी र छुल्ठीम गुरुङले संयुक्तरुपमा रोचक प्रसंगका साथ सञ्चालन गरेको समारोहलाई मनोरञ्जकरुपमा अगाडि बढाउने क्रममा करिश्मा मानन्धर र कर्मा, पृथ्वीराज शर्मा र सुष्मा कार्की, पल शाह र आँचल शर्मा, क्षितीजा शाक्यले एउटै प्रस्तुतिमा विभिन्न गीतमा नृत्य प्रस्तुत गरेक थिए। त्यसै गरी रेजिना उप्रेती, आकाश श्रेष्ठ, नाजिर हुसैन, शिशिर राणा, सामाज्ञ्री राज्यलक्ष्मी देवी शाह, गजित विष्ट, निश्मा घिमिरे र पवित्रा आचार्य पनि नृत्यका साथ प्रस्तुत भएका थिए भने केदार घिमिरे र सीता घिमिरेले फिल्मका विभिन्न विषयमा हस्यौली प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्